८ वैशाख २०८१ शनिबार
राजनीति

रौतहटका दुई मेयर र पाँच उपमेयरको पद धरापमा

रौतहटका दुई नगर प्रमुख र पाँच उपप्रमुखलाई पार्टीले स्पष्टीकरण सोधेपछि पद धरापमा परेको छ। नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका उपप्रमुखलाई पार्टी हित विपरीत कार्य गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधिएको छ।  

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो। प्रदेश २ मा एकमात्र महिला मेयर साह सहरी विकास मन्त्री प्रभु साहकी धर्मपत्नी हुन् भने कुशवाहा पनि निकटका सहयोगी हुन्।

यसैगरी पार्टीले यमुनामाई गाउँपालिका उपप्रमुख गीतादेवी साह, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिका उपप्रमुख कान्तिदेवी साह, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, देवाहीगोनाही नगरपालिका उपप्रमुख परनियादेवीलाई स्पष्टीकरण सोधेको छ। सबैजना नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन्। निर्वाचित सबै पदाधिकारी सहरी विकास मन्त्री प्रभु साह निकट मानिन्छन्। माओवादी केन्द्र र एमाले एकीकरण भएपछि सबैजना संयुक्त कार्यक्रमहरुमा सहभागी हुँदै आएका थिए।

सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले अलग भएपछि पनि यी पदाधिकारी नेकपा एमालेको ओली समूहले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदै आएका थिए।

माओवादी केन्द्रले स्पष्टीकरण सोधेपछि सबैको पद धरापमा रहेको चर्चा चल्न थालेको छ। यद्यपि पालिका प्रमुख र उपप्रमुख प्रत्यक्ष जननिर्वाचित कार्यकारी पद भएकोले पद धरापमा नरहेको स्पष्टीकरण सोधिएका निकटस्थहरुले बताइरहेका छन्।

प्रकाशित: ६ वैशाख २०७८ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App