coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘फ्लोर क्रस’ बाट जोगिएला लुम्बिनी प्रदेश?

कर्णाली प्रदेशको सत्ता समीकरण फेरबदलका लागि एमालेले संसद्मा दर्ता गरेको अविश्वास प्रस्तावलाई एमालेकै चार सांसदले विफल गराइदिएपछि विश्वासको मत पाएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले निरन्तरता पाएको छ। केन्द्रमा नेकपाभित्र केपी ओली समूहले गरेको ‘ज्यादती’ को हिसाबकिताब माधव–झलनाथ समुहले ‘फ्लोर क्रस’ मार्फत कर्णालीबाट लिन सुरु गरेको चर्चा एमाले वृत्तमा चुलिएको छ।  

माधव–झलनाथले कर्णालीमा गरेको ‘हिसाबकिताब’ ले अन्य प्रदेशमा पनि प्रभाव पार्ने देखिएको छ। यो समूहका केन्द्रीय नेताहरूकै अभिव्यक्तिलाई आधार मान्ने हो भने पनि क्रस फ्लोर क्रसको शृंखला अन्य प्रदेशमा पनि पर्नेछ। यो समूहका उपाध्यक्ष युवराज ज्ञवालीले यसलाई ‘संकेत’ मात्रै भनेर उल्लेख गर्नुले पनि क्रस फ्लोरको शृंखला अन्य प्रदेशमा पनि हुने सम्भावना आंकलन गर्न सहजै सकिन्छ।  

कर्णालीमा भएको फ्लोर क्रसको धक्का छिमेकी प्रदेश लुम्बिनीमा तत्कालै पर्ने देखिन्छ। ४१ मतसहित संसद्मा अल्पमतमा देखिएका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध यो प्रदेशमा आविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओबादी कांग्रेस लगाएतका दलहरूले गरिरहेका छन्। ४२ मतसहित अविश्वासको प्रस्तावका लागि तयारी भइरहेको यो प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पदमुक्त गर्नका लागि बाँकी १ भोटको आवश्यकता पर्छ। कांग्रेसको १९, माओबादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीविरुद्ध जाने रणनीति बनाईसकेका छन्। जसपाको अनिर्णित एक मत मात्रै अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल/खनाल समूहको फ्लोर क्रस आवश्यक पर्नेछ।  

तर कर्णालीको घटनाले अब यो प्रदेशमा पनि सत्ता फेरबदलका लागि सहज भएको एमाले माधव नेपाल, झलनाख खनाल समूहका केन्द्रीय सदस्य मेटमणी चौधरीको भनाइले पुष्टि गर्छ। ‘कर्णालीबाट सुरु भएको फ्लोर क्रस अब देशैभर जाने हो,यो कर्णाली प्रदेशमा मात्रै गरिएको चिज हैन,’ उनले भने ‘लुम्बिनी प्रदेशको हकमा पनि हामीहरू मुख्यमन्त्रीविरुद्ध बहुमत पु¥याउनका लागि आवश्यक मत क्रस गरेरै जान्छौँ।’  

उनका अनुसार सुरुमा माओवादी, कांग्रेस, जसपा र राजपाको भूमिका यो समूहले हेर्ने छ। मुख्यमन्त्री पोखरेलविरुद्ध उनिहरूकै मात्रै बहुमत पुग्ने अवस्था भए फ्लोर क्रस नहुने अन्यथा पोख्रेलको विदाइका लागि आवश्यक भोट क्रस हुने केन्द्रीय सदस्य चौधरी बताउँछन्। ‘कांग्रेस, माआवबादी, जसपा र राजमोले नै बहुमत पुर्‍याउने अवस्था आए हामी चुप बस्छौँ,’ उनले भने, ‘अन्यथा बहुमत पुर्‍याउनका लागि आवश्यक दुई तीन मत क्रस हुन्छ।’ 

तथापि उनले आफूहरूको समूहको मत प्रदेशमा के कति छ भनेर भने खुलाएनन्। उनले थपे, ‘तपाईं यत्ति बुझ्नुस् दुई तीन मत क्रस हुँदाबित्तिकै पोखरेलजी हट्नुहुन्छ, त्यो मत आवश्यक परेको खण्डमा क्रस हुन्छ।’  नेपाल–खनाल समूहले फ्लोर क्रसको मुद्दालाई एमाले अध्यक्ष ओलीको भूमिकासँग जोडेको छ। उसले फ्लोर क्रुसलाई ओलीको ज्यादतीविरुद्धको प्रहार भनेको छ। फलत: ओलीको व्यवहार नसुध्रिए कर्णालीबाट सुरु भएको फ्लोर क्रसको शृंखला देशैभर चल्ने उपाध्यक्ष ज्ञवालीले चेतावनी दिइसकेका छन्।

प्रकाशित: ५ वैशाख २०७८ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App