१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘फ्लोर क्रस’ बाट जोगिएला लुम्बिनी प्रदेश ?

कर्णाली प्रदेशको सत्ता समिकरण फेरबदलका लागि एमालेले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावलाई एमालेकै चार सांसदले फेल गराईदिए । फलतः विश्वासको मत पाएका महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले निरन्तरता पायो । केन्द्रमा केपी ओली समुहले गरेको ‘ज्यादती’ को हिसाबकिताब माधव÷झलनाथ समुहले ‘फ्लोर क्रस’ मार्फत कर्णालीबाट लिन सुरु गरेको चर्चा एमाले बृत्तमा चुलिएको छ ।  

माधब÷झलनाथले कर्णालीमा गरेको ‘हिसाबकिताब’ ले अन्य प्रदेशमा पनि प्रभाव पार्ने देखिएको छ । यो समुहका केन्द्रीय नेताहरुकै अभिव्यक्तिलाई आधार मान्ने हो भने पनि क्रस फ्लोरको श्रृंखला अन्य प्रदेशमा पनि पर्ने छ । यो समुहका उपाध्यक्ष युवराज ज्ञवालीले यसलाई ‘संकेत’ मात्रै भनेर उल्लेख गर्नुले पनि क्रस फ्लोरको श्रृंखला अन्य प्रदेशमा पनि हुने सम्भावना आँकलन गर्न सहजै सकिन्छ ।  

कर्णालीमा भएको फ्लोर क्रसको धक्का छिमेकी प्रदेश लुम्बिनीमा तत्कालै पर्ने देखिन्छ । ४१ मत सहित संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध यो प्रदेशमा आविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओबादी कांग्रेस लगाएतका दलहरुले गरिरहेका छन् । 

४२ मत सहित अविश्वासको प्रस्तावका लागि तयारी भैरहेको यो प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पदमुक्त गर्नका लागि बाँकी १ भोटको आवश्यक्ता पर्छ । कांग्रेसको १९, माओबादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीका बिरुद्ध जाने रणनीति बनाईसकेका छन् । जसपाको अनिर्णित एक मत मात्रै अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल÷खनाल समुहको फ्लोर क्रस आवश्यक पर्ने छ ।      

तर कर्णालीको घटनाले अब यो प्रदेशमा पनि सत्ता फेरबदलका लागि सहज भएको एमाले माधव नेपाल, झलनाख खनाल समुहका केन्द्रीय सदस्य मेटमणी चौधरीको भनाईले पुष्टि गर्छ । ‘कर्णालीबाट सुरु भएको फ्लोर क्रस अब देशैभर जाने हो,यो कर्णाली प्रदेशमा मात्रै गरिएको चिज हैन,’ उनले भने ‘लुम्बिनी प्रदेशको हकमा पनि हामीहरु मुख्यमन्त्री बिरुद्ध बहुमत पुर्याउनका लागि आवश्यक मत क्रस गरेरै जान्छौँ ।’  

उनका अनुसार सुरुमा माओबादी , कांग्रेस, जसपा र राजपाको भुमिका यो समुहले हेर्ने छ । मुख्यमन्त्री पोखरेल बिरुद्ध उनिहरुकै मात्रै बहुमत पुग्ने अवस्था भए फ्लोर क्रस नहुने अन्यथा पोख्रेलको बिदाईका लागि आवश्यक भोट क्रस हुने केन्द्रीय सदस्य चौधरी बताउँछन् ।  

‘कांग्रेस, माओबादी, जसपा र राजमोले नै बहुमत पुर्याउने अवस्था आएको खण्डमा हामीहरु चुप बस्छौँ,’ उनले भने ‘अन्यथा बहुमत पुर्याउनका लागि आवश्यक दुई तीन मत क्रस हुन्छ ।’ तथापी उनले आँफुहरुको समुहको मत प्रदेशमा के कति छ भनेर भने खुलाएनन् । उनले थपे ‘तपाई यति बुझ्नुस् दुई तीन मत क्रस हुँदा बित्तिकै पोखरेल जि हट्नुहुन्छ, त्यो मत आवश्यक परेको खण्डमा क्रस हुन्छ ।’  

नेपाल ÷खनाल समुहले फ्लोर क्रसको मुद्धालाई एमाले अध्यक्ष ओलीको भुमिकासंग जोडेको छ । उसले फ्लोर क्रुसलाई ओलीको ज्यादती बिरुद्धको प्रहार भनेको छ । फलत : ओलीको व्यवहार नसुध्रिए कर्णालीबाट सुरु भएको फ्लोर क्रसको श्रृंखला देशैभर चल्ने उपाध्यक्ष ज्ञवालीले चेतावनी दिईसकेका छन् । 

प्रकाशित: ४ वैशाख २०७८ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App