coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीमा फ्लोर क्रस : यो संकेत मात्रै हो

नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्धको संकेत मात्रै भएको बताएका छन् । उनले यसलाई संकेतका रुपमा मात्रै अथ्र्याउँदै यसले ठूलो रुप लिन सक्ने समेत चेतावनी दिए ।  

अध्यक्ष ओली निरन्तर नकारात्मक ढंगबाट अघि बढेको भन्दै ज्ञवालीले अब पनि नसुध्रिए कर्णालीको श्रृंखला अन्य प्रदेशमा पनि दोहोरिने चेतावनी दिए । ‘कर्णालीमा भएको फ्लोर क्रस मतदान संकेत मात्रै हो, नकारात्मक ढंगबाट ओली जी हिँडे हाम्रा पनि बिकल्पहरु थुप्रै छन् भन्ने उदाहरण कर्णालीमा देखाएका हौँ,’ ज्ञवालीले नागरिकसंग भने ‘यदि अँझै त्यहि नकारात्मकताको बाटोमा हिँडिरहे हाम्रा यस्ता कैयन बिकल्पहरुलाई अन्य प्रदेशमा पनि खुल्ला राख्ने छौँ ।’

तथापी कर्णाली प्रदेशमा फ्लोर क्रस भएपनि अन्य प्रदेशका हकमा भने आफूहरुको यस्तो योजना बनिनसकेको ज्ञवालीले बताए । कर्णालीका सन्दर्भमा के गर्ने भन्ने बिषयमा प्रकाश ज्वालासंग आफ्नो कुराकानी भएको भन्दै ज्ञवालीले ज्वालालाई माधवकुमार नेपाल र झलनाल खनालसंग सल्लाह लिन सुझाव दिएको ज्ञवालीले बताए ।  

यसैगरि उनले कर्णालीमा भएको फ्लोर क्रसलाई देश, लोकतन्त्र र कम्यूनिष्ट आन्दोलन बचाउने अभियानको उच्चतम नमुनाका रुपमा अथ्र्याए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन लादेको भन्दै उनले यसका विरुद्ध कर्णालीमा नयाँ एकता गर्नु परेको बताए । ‘देशमा प्रतिगमन लादियो, यसका लागि हामी सबै एक हुन जरुरी छ,’ ज्ञवालीले भने ‘फलतः कर्णालीमा हामीहरुले प्रतिगमनका विरुद्ध हामी एक छौँ है भन्ने सन्देश दिएका छौँ ।’  

केपी शर्मा ओलीको भूमिकाबाट मात्रै नभई प्रदेश नेतृत्वको भूमिकालाई पनि हेरेर कर्णालीको अवस्था निम्त्याउने वा ननिम्त्याउने भन्ने बिषयको निक्र्यौल हुने ज्ञवालीले बताए । ‘हामीहरुले केपी ओलीको दोषलाई मात्रै पनि हेर्दैनौँ, प्रदेशको हकमा प्रदेश सरकारको नेतृत्वको भूमिकालाई पनि मूल्यांकन गर्छौँ,’ उनले भने ‘प्रदेशको नेतृत्वको भूमिकालाई हेरेर पनि हामीहरु अगाडी बढ्ने हो ।’  

प्रदेश नेतृत्वले सबैलाई समावेश गरेर लगे नलगेको हेरिने भन्दै उनले प्रथमतः आफूहरुले सकारात्मक ढंगले हेर्ने बताए । तर नकारात्मक रुपमा अघि बढेको पाईए अन्य प्रदेशमा पनि आफूहरुको समूह कर्णालीमा जस्तै फ्लोर क्रस मतदानमा जाने चेतावनी उनले दिए ।  

‘केपी शर्मालाई मात्रै नहेरेर हामीहरुले प्रदेशको हकमा प्रदेश सरकारको नेतृत्वको अवस्था पनि हेर्छौँ,’ उनले भने ‘सबैलाई समावेश गरेर अघि बढेको खण्डमा हामी सकारात्मक हुन्छौँ, तर नकारात्मक रुपमाले अघि बढेको नेतृत्वका बारेमा हामीहरु पनि नकारात्मक ढंगले अघि बढ्छौँ ।’ 

प्रकाशित: ३ वैशाख २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App