१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा. शेखर कोइराला । तस्बिरः चुमन/नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि सांठगांठ रहेको आशंका गरेका छन्। बुधबार वरगाछी युवा समूहले विराटनगरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा डा. शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि सांठगांठ रहेको आशंका गर्ने स्थिति देखिएको बताएका हुन्।  

सरकार संसदलाई विजनेश दिन नचाहने र सभामुख पनि बहाना देखाएर संसद अघि बढाउन नचाहने प्रबृत्तिले सरकार र माओवादीबीच भित्री सांठगांठ छैन भनेर भन्न सकिने अवस्था नरहेको कोइरालाले बताए। ‘सरकारले विजनेश नदिंदैमा संसदको सबै काम रोकिंदैन’ डा कोइरालाले भने,‘उपभामुखको निर्वाचन प्रकृया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद संचालनमा चासो नै नदेखाएको कोइरालाको आरोप छ। प्रधानमन्त्री र सभामुखकै कारण संसद अनिर्णयको बन्दी बनेको उनले बताए। 

‘सरकार विजनेश नदिने र सभामुखले लाचार बनेर छायाँ सभामुखको भूमिका निर्वाह गर्दा समस्या आएको छ’ डा कोइरालाले भने। सरकार जतिदिन बस्छ त्यति नै दिन अराजकता बढ्ने उनले स्पष्ट पारे। हालको राजनीतिक अवस्थालाई कांग्रेसबाहेक अरु कसैले निकास दिन नसक्ने भएकाले अब, कांग्रेसले सार्थक पहल गर्ने बेला आएको कोइरालाले बताए। ‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’    

उनले नेपाली कांग्रेस भूमिका विहीन भएर बस्नु देश र लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए। कांग्रेसका नेताहरू अलमलमा परिरहँदा देश राजनीतिक समस्यामा लामो समय अल्झीरहने स्थिति उत्पन्न भएको उनको भनाइ छ। विपीसँग, गणेशमानसँग, गिरीजाबाबुसँग काम गरेका नेताहरू अलमलिइरहनु आश्चर्यजनक भएको उनको टिप्पणी छ। राजनीतिमा सँधै गणितीय खेल मात्रै नहुने भएकाले नेताहरू देशलाई निकास दिने विषयमा अलमलिन नहुने उनले बताए।

प्रकाशित: १ वैशाख २०७८ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App