१६ चैत्र २०८० शुक्रबार
राजनीति

कूटनीतिमा चुनौती बढाएर बित्यो २०७७

कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक चीन र भारत तथा प्रमुख विकास साझेदार मुलुकहरूसँगको सम्बन्ध जुन हिसाबले धर्मराउन पुग्यो, यहाँको आन्तरिक राजनीतिक खिचातानीका कारण पनि नेपालको कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बन्दै गएको छ।  

छिमेकी भारतले नेपालको भूभाग आफ्नो नक्सामा प्रकाशित गरेपछि सुरु भएको विवाद अहिलेसम्म पनि समाधानउन्मुख देखिँदैन । नक्सा विवादका कारण दुई देशकाबीचमा लामो समयसम्म सम्वादहीनताको अवस्था रहेकोमा पछिल्लोसमय सम्वाद सुरु भए पनि नक्सा प्रकरणमा हालसम्म पनि औपचारिक छलफल हुन सकेको छैन ।  

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रसिद्ध धार्मीकस्थल अयोध्या नेपालमा रहेको र चिनिया कोरोना भाइरस भन्दा भारतीय कोरोना भाइरस खतरनाक रहेको अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई थप कमजोर बनाउने र जनस्तरमा समेत विवाद बढाउने काम ग¥यो । संवाद सुरु गर्ने नाममा प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यार्दाको वेवास्ता गर्दै भारतीय गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटारमा बोलाएरै स्वागत गरेपछि त्यसले पनि नेपालको कूटनीतिक सम्बन्ध कसरी अघि बढ्दै छ भन्ने विषयमा बहस सिर्जना गरिदिएको छ ।  

अर्काेतर्फ कम्युनिस्ट पार्टीहरूबीचको एकतापछि बनेको नेकपाको सरकारले उत्तरी छिमेकी चीनसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरेपनि पछिल्लो समय नेकपाभित्रको विवादलाई मिलाउने चिनियाँ प्रयास असफल भएसँगै चीनसँगको सम्बन्ध पनि बिग्रिँदै गएको छ । पछिल्लो समय चीनसँग भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयन हुन सकिरहेको छैन नेपालबाट चीनमा आयात निर्यातमा समेत सहजता हुन सकिरहेको छैन । नेपालको महत्वपूर्ण मित्रराष्ट्र तथा प्रमुख विकास साझेदार अमेरिकासँग विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशनको कार्यान्वयन गर्ने विषयमा ठोस निर्णय हुन नसक्दा सम्बन्धमा चिसोपन देखिन थालेको छ। 

एउटा विकास परियोजनालाई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयले २०७७ सालमा दुई देशबीचको लामो मैत्री सम्बन्धलाई समेत कमजोर बनाउने काम गर्‍यो। वर्ष २०७८ मा यसलाई नेपालले कसरी सम्बोधन गर्छ भन्ने कुराले आगामी दिनमा अमेरिकासँगको सम्बन्धलाई तय गर्नेछ । नेपालले अन्तर्राष्ट्रिय जगतसँग कूटनीतिक सम्बन्ध राख्न थालेको दुई सय वर्षभन्दा बढी भइसकेको छ । दक्षिण एसिया सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव हासिल गरेको नेपालको अन्तराष्ट्रिय सम्बन्ध गणतन्त्र स्थापनापछि बनेको सबैभन्दा शक्तिशाली सरकारकै पालामा इतिहासकै कमजोर अवस्थाबाट गुज्रिन पुगेको छ।  

वर्तमान सरकार बनेको केही समयसम्म नेपालको कूटनीतिक सम्बन्धले एउटा उचाइ लिइरहेको थियो । यस विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विश्वजगतमा सुनिन र देखिन थालेको बताउने गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कतिपय मञ्चमा सरकारको काम देखेर विश्व चकित भएको बताउने गरेका थिए। तर पछिल्लोसमय सरकारको क्रियाकलाप र यहाँको आन्तरिक राजनीतिक उतारचढाबले यो वर्ष नेपालको कूटनीतिमा खतराको कालोबादल मडारिन पुगेको छ।  

पूर्व परराष्ट्रमन्त्री एवं अन्तर्राष्ट्रिय मामिलाका जानकार रमेशनाथ पाण्डे वर्ष २०७७ मा नेपाल नयाँ राजनीतिक संक्रमणकालमा प्रवेश गरेको र यसले अन्तराष्ट्रिय सम्बन्धलाई कमजोर बनाउने काम गरेको बताउँछन्। निर्वाचनका बेला मतदाताहरूले परिवक्व निर्णय गरे पनि नेतृत्वले त्यसको दुरुपयोग गरेका कारण नेपालको प्रजातन्त्रमा पटकपटक काल पल्केको र यसको असर अन्तर्राष्ट्रिय सम्बन्धमा पर्दै आइरहेको उनी बताउँछन्। २०५१ मा गिरिजाप्रसाद कोइराला र ०५९ मा शेरबहादुर देउवाले आन्तरिक समस्यालाई समाधान गर्न नसक्दा संसद् विघटन गरेजस्तै यो वर्ष प्रधानमन्त्री ओलीले पनि पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा संसद् विघटन गरेको बताउँदै उनले यसलाई प्रजातन्त्रमाथि काल पल्केको रुपमा अथ्र्याएका छन्।

आन्तरिक राजनीतिमा आएको उतार चढाबको प्रभाव बाह्य सम्बन्धमा पर्ने उनको भनाई छ । नेपाल अहिले अमेरिका, भारत र चीनको सुरक्षा राडरमा परेको र यसको प्रभाव देखिन थालेपनि आन्तरिक विवादले त्यसलाई महसुस गर्न नसकिरहेको पाण्डे बताउँछन् । आन्तरिक विवादका कारण यस किसिमका गम्भीर विषय राजनीतिक नेतृत्वको प्राथमिकतामा नपरेको बताउँदै उनले यो वर्ष चुनौती बढाएर बिदा भएको र आगामी दिनमा थप चुनौतीपूर्ण अवस्था आउनसक्ने उनी बताउँछन्।  

प्रकाशित: १ वैशाख २०७८ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App