७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमसिसी संसद्को कार्यसुचीमा राख्न आग्रह

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री ओलीको कामप्रति असहमति जनाएका छन्। संसद् बैठकमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भन्ने व्यङ्ग्य गरे। उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए। ‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौ नेपालीले रोजगारी गुमाएका छन्। सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर जो नेपाल फर्किएका छन्, फर्किएर आएका पनि जान पाएका छैनन्,’ उनले भने, ‘यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ।’ दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार ५०० र प्रतिबद्ध करिब २ हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको तर सरकारले उनीहरूलाई पठाउन कुनै पहल नगरेको बताए लगाए। ‘यिनीहरूको बारेमा सरकारले लगातार बेवास्ता गरेको छ। फिलिपिन्सको, माल्दिभ्सको, श्रीलंकाको सरकारले गरेको जस्तो पहलकदमी लिएको भए सायद यिनीहरूले कोरिया जान पाइसकेका हुन्थे होला। भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका, घर बिदामा आएर फर्किएका र जान नपाएका यी कामदारहरूलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनका निम्ति म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु।’ उनले भने।  

सांसद शक्ति बस्नेतले संसदलाई जोगाउनका लागि माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए। सांसद अन्जना विसुंखेले निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालत, संसदीय समिति सेटिङमा चलेको आरोप लगाइन्। कांग्रेस सांसद उमा रेग्मीले प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई ५ हजारभत्ता दिने काम भाषणमा मात्र हैन कार्यन्वयनमा लैजानुपर्ने बताइन्। जसपा सांसद अनिलकुमार झाले अपाङ्ग, जेष्ठ नागरिक, दलितलगायतले पाउने सामाजिक सुरक्षा भत्ताको नवीकरण सहज बनाउन र सर्वसुलभ तरिकाले उपलब्ध गराउन सक्ने व्यवस्था गर्न माग गरे। त्यस्तै बैठकमा सांसद छकबहादुर लामाले हुम्ला सडक सञ्जालले नजोडिएको जिल्ला भएको र चीनको नाका पनि कोरोनाका कारण बन्द भएको बताउँदै हवाइबाट हुने खाद्य ढुवानीको कोटा बढाउन माग गरे। सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छन्। उनले फेरि प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरू हतोत्साहित भएको बताइन्। उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन। संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका छन्।’ नेकपा सांसद घनश्याम खतिवडाले संसदमा असंसदीय खेल भएको बताए। सांसद गजेन्द्रबहादुर महतले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढेको व्यंग्य गर्दै धरहरालाई देखाएर डण्डी र सिमेन्टको भाउ बढेको बताए। उनले भने, ‘विकासको र समृद्धि देखाएर नुन, तेल, चामल, जनताको ढाड सेकिएको छ। पार्टीभित्र झगडा देखाएर संसद्को ढाडै भाँडिएको छ। सांसद महतले राष्ट्रवादको नारा लगाएर चुच्चे नक्सा समेत गायब पारिसकिएको आरोप लगाए।

एमसिसी संसद्को कार्यसुचीमा राख्न आग्रह  

नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसदको बिजनेस बनाउन सभामुखसमक्ष आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले तीन चार वर्षदेखि थन्किएको यो सम्झौता संसद्बाट अनुमोदन गर्न ढिलाई भएको बताए।  

‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो। आज त्यो थान्को लागेर सभामुख महोदय तपाइ समक्ष छ, यो संसदमा तीन–चार वर्ष कति वर्षसम्म लड्काउने हो, एमसिसी तुरुन्त बहसको विषय बनाइयोस् र संसद्को बिजनेस बनाइयोस्, संसदको विषय बनाइयोस् भन्ने जोडदार माग राख्न चाहन्छु,’ उनले भने। कांग्रेस सचेतक पुष्पा भुषालले अधिकारीको यो भनाई पूर्वाग्रही भएको बताइन्। एकातिर एमसिसी पास गर्न दिएन भन्दै संसद्माथि आरोप लगाउने, अर्कोतिर सरकारले नै एमसिसी सम्झौतालाई संसद्मा टेबल नगराएको भन्दै उनले सरकारलाई उक्त सम्झौता टेबल गर्न चुनौती दिइन्।  

प्रकाशित: ३१ चैत्र २०७७ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App