coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सकुनिले पासा फ्याँकेजस्तो फेरि संसद् विघटन नगरौं: गिरि

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले वर्तमान संकटको समाधानका लागि सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन्। सांसद गिरिले संसद्लाई संसद् अवधिभर चल्न दिनुपर्ने बताए। विशेष समयमा बोल्दै उनले जालझेल गरी सकुनीले पासा फ्याँकेजस्तो दुबारा पासा थापेर फेरि पाण्डवलाई वनवास पठाएजस्तो संसद् विघटन गर्नतर्फ नजान उनले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे।  

उनले भने, ‘प्रधानमन्त्रीलाई छोड भनेर मात्रै केही हुनेवाला छैन। उपयुक्त विकल्प चाहिएको बताए। संसद्मा दिनहुँ जुहारी गरेर जनताको विषय ओझेलमा परेको छ,’ उनले बताए। पछिल्लो समय सरकारका क्रियाकलाप सन्तोषजनक नभएको, भ्रष्टाचार मौलाएको, विकासको गतिमा सुस्त भएको सांसद गिरिको भनाइ थियो। सांसद गिरिले भने, ‘कसरी राष्ट्रिय सहमति गर्न सक्छौं एकपटक आफूलाई चिहाऔं।’ संकटको घडीमा एक भई चुनावै गराउनु छ भने राष्ट्रिय सहमतिको सरकार बनाऔं।  

सहमति नगरी चुनावमा जाँदा त्यसले नकारात्मक अवस्थाको सिर्जना हुने उनले बताए। सानो समूहले नमान्दा ०४७ सालको संविधानको विनाशको विज रोपण भएको स्मरण गर्दै उनले अहिले पनि त्यही समय आएको बताए। उनले आफू र आफ्नो अहमबाट माथि उठ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। प्रधानमन्त्री सडकमा फ्याँकिए जसरी सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा रहेको उनले बताउँदै उनले भने, ‘प्रश्न सरकारको होइन, यो संविधानलाई बचाएर अगाडि बढ्ने हो वा २०४७ सालको जस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्साको जस्तो विजोगमा लैजाने हो ?’ चुनाव नगर्ने हो भने संसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने सांसद गिरीले बताए। 

उनले संसदमा उपस्थित प्रत्येक पार्टी, संसदभन्दा बाहिर रहेको नागरिक समाजले उठाएका एकपछि अर्को सवाललाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नु भर्खर रोपिएको बिरुवामा जरा लाग्यो कि लागेन भनेर उखेलेर हेर्नुजस्तो कुरा भएको उनले बताए। ‘यो संविधानलाई मलजल गर्ने कि नगर्ने ? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर यसको जरा लागेको छ कि छैन हेर्ने ?’ उनले भने, ‘केही समय धर्यपूर्वक हेर्नुको साटो विरुवा उखेलेर जरा हेर्ने प्रवृत्तिले विरुवा राम्रोसँग हुर्कन नसक्ने उनको भनाई थियो। संसद भंग गर्न खोज्ने र नदिनेहरूले यसको दायित्व लिनुपर्ने कि नपर्ने उनले भने। गिरीले भने, ‘संविधानको रक्षा गर्छौं कि गर्दैनौं ? रक्षा गर्दा यही रूपमा गर्छौं वा यथोचित परिर्माजनका साथ गर्छौं ? त्यो परिमार्जन टालटुले हुन्छ वा मुलुकको सबै समुदाय, जातिको चित्त बुझाउने गर्छौं ?’

प्रकाशित: ३१ चैत्र २०७७ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App