coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाऔंः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनमा उनले वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले भने,“पार्टीको अधिवेशन नभएको बेलामा चुनावमा हाम फाल्नु हुन्न, लोकतन्त्रलाई बचाउन हामी आफैँले लोकतान्त्रिक आचरण देखाउनुपर्‍यो, चुनाव हैन सत्ताको विकल्प खोजिनुपर्छ।”

वरिष्ठ नेता पौडेलले पहिला पनि नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको अवस्थामा कांग्रेसले सरकारको नेतृत्वको अवसर गुमाएको र अहिले पनि चुनौतीको अवस्था रहेको उल्लेख गरे। “एउटा अवसर अस्तिनै (संसद् पुनः स्थापना हुनुपूर्वको परिस्थिति) गुमाइसकेका छौँ, फेरि पनि जोखना हेरेर बस्दा टाउको समातेर रुनुपर्ने अवस्था आउनसक्छ, त्यसैले व्यवस्था बचाउनुपर्छ, सत्ता आफैं आउँछ”, उनले भने। उनले निजामती प्रशासनलाई दलको झण्डाभन्दा सेवामुखी भावनाका साथ व्यवस्थित र पारदर्शी बनाइनुपर्नेमा जोड दिए।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले अहिलेको परिस्थितिमा कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था नरहेकाले मुलुकमा ढिलो चाँडो निर्वाचन हुने हुँदा त्यस दिशातर्फ पार्टीलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्ने खाँचो औँल्याए। महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारलाई नहटाएसम्म कांग्रेसको पक्षमा माहोल नबन्ने भन्दै आगामी निर्वाचन कांग्रेसको पक्षमा पार्न पनि अहिलेको सरकारको विकल्प खोज्नुपर्ने बताए। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजित भएको अवस्थामा जनमत गुमाएको भन्दै सरकारको विकल्प दिएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुको विकल्प नरहेको बताए।

केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले निजामती प्रशासनलाई अस्तव्यस्त बनाएको टिप्पणी गर्दै सरकारको विकल्प दिएर मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्नेमा जोड दिए। कार्यक्रममा युनियन (सङ्घ)का अध्यक्ष गोपालप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटालगायतले सरकारले भेदभावपूर्ण र एकलौटीरुपमा कर्मचारी सरुवा बढुवा गरेको आरोप लगाउँदै संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐन कर्मचारी हितअनुकूल नरहेकाले खारेज गरिपनुपर्ने माग गरे।

जिल्ला विभागीय अध्यक्ष एवं आधिकारिक ट्रेड युनियनका अध्यक्षहरू र विधान प्रतिनिधिको दुईदिने भेला तथा अधिवेशनले निजामती प्रशासनलाई निष्पक्ष, क्षमतावान् र प्रभावकारी बनाएर जनताको सेवालाई प्रभावकारी बनाउने दिशामा आगामी रणनीति तय गर्ने आयोजकले जनाएको छ। सो अवसरमा निजामती सेवामा समर्पित भई जनमुखी प्रशासनमा भूमिका खेलेको भन्दै सङ्गठनका पूर्वनेतृत्व, जिल्ला अध्यक्षलगायतलाई सम्मान गरिएको थियो। 

प्रकाशित: २७ चैत्र २०७७ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App