१६ चैत्र २०८० शुक्रबार
राजनीति

कर्णाली सरकारबाट बाहिरियो एमाले

तीन मन्त्रीको राजीनामा

नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रीमण्डलमा एमालेबाट सहभागी भएका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्। उनीहरूले मुख्यमन्त्री शाहीलाई भेटेर राजीनामापत्र बुझाएका थिए।  

चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्रका नेता शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै पार्र्टीबाट मन्त्री भएकालाई राजीनामा दिन निर्देशन दिएको थियो। ‘एमाले संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकारमा सहभागी हामीलाई फिर्ता हुन निर्देशन दिएको थियो,’ ज्वालाले भने, ‘दलको निर्णय स्वीकार गर्दै मन्त्रीबाट राजीनामा दिएका हौं।’

एमालेबाट २०७४ फागुन ६ गते चारजना मन्त्री सरकारमा सहभागी थिए। तीमध्ये भौतिक पूर्वाधारमन्त्री रहेका खड्क खत्रीलाई गत साउनमा मुख्यमन्त्री शाहीले हटाएका थिए। राजीनामापछि ज्वालाले आफूहरू प्रदेशको जग बसाउन सफल भएको बताए।‘संघीय सरकारले कानुन र बजेटमा बाँधे पनि हामी प्रदेशको जग बसाउन सफल भयौं,’ उनले भने, ‘दुई दर्जनबढी काननु निर्माण, सबै जिल्लामा प्रदेशका संरचना स्थापना र आयोगहरू यो अवधिमा बनाउन सफल भयौं।’ उनले  

सुरुमै प्रदेशको नामाकरण र राजधानी तोक्न आफूहरू सफल भएको बताए। यस्तै सामाजिक सुरक्षाको क्षेत्रमा पनि आफूहरू सम्मिलित सरकारले महत्वपूर्ण काम गरेको दाबी उनले गरे। सामूहिक राजीनामा पत्रमा आफूहरूले प्राप्त गरेको जिम्मेवारी योग्यता र क्षमताले भ्याएसम्म कर्णाली प्रदेशका नागरिकलाई साक्षी राखेर पूरा गरेको उल्लेख छ। ‘२०७४ फागु ६ गतेदेखि आजका मितिसम्म प्रदेश सरकारको मन्त्रीका रूपमा काम गर्न पाउँदा ऐतिहासिक जिम्मेवारीको महसुस भएको छ,’ राजीनामा पत्रमा उल्लेख छ, ‘हामी आजका दिनसम्म समाल्दै आएको जिम्मेवारीबाट बाहिर रहे पनि प्रदेशसभा सदस्यका रूपमा कर्णाली प्रदेशको विकास र समृद्धिको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं।’

राजीनामापत्रमा एकातिर भौतिक, प्रशासनिक एवं कानुनी संरचनाहरूको संस्थागत विकास र अर्कोतर्फ विकास र आधारभूत सेवा सुविधाको अनुभूति जनतालाई गराउन सफल भएको दाबी गरिएको छ। फागुन २३ गते सर्वोच्च अदालतले दुई पार्टी (एमाले र माओवादी केन्द्र) लाई साबिककै अवस्थामा पु¥याएपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण संसदीय दलले गरेको निर्णयअनुसार नैतिक र राजनीतिक मूल्य मान्यता स्थापित गर्दै विभागीय जिम्मेवारीबाट संयुक्त राजीनामा दिएको पत्रमा उल्लेख छ। ‘करिब तीन वर्षको अवधिमा सहयोग गर्ने प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, सहकर्मी मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेतालगायत सबै माननीय सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ राजीनामा पत्रमा लेखिएको छ, ‘विभागीय जिम्मेवारीमा नरहे पनि प्रदेशको समृद्धि र विकासमा निरन्तर सक्रिय रहनेछौं।’

मन्त्रीबाट सामूहिक राजीनामा दिएलगत्तै तीनैजना आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलबाट हिँडेर एमाले संसदीय दलको बैठकमा भाग लिन पुगेका थिए। मन्त्रालयदेखि दलको बैठक हुने स्थान एक किलोमिटर दुरीमा छ। ‘राजीनामालगत्तै हामीले गाडी, सुरक्षाकर्मी र सबै सुविधा फिर्ता गरेका छौं,’ ज्वालाले भने। 

प्रकाशित: २५ चैत्र २०७७ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App