coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः दुई सांसद कार्बाहीमा, दल परित्याग गरेको जानकारी सदनमा

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी कारबाहीमा परेका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्।  

नेकपा माओवादी केन्द्रको संसदिय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका न्यौपाने र पन्थीको पद मंगलबारको प्रदेश सभाको बैठकले रिक्त भएको घोषणा गरेको हो। न्यौपाने रुपन्देही क्षेत्र नंं १(२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२)बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। दुवैले माओवादी परित्याग गरी ओली नेतृत्वको एमालेको केन्द्रिय सदस्य बनेका थिए।  

प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ। नेकपा मओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी मंगलबारको बैठकमा सभामुखले गराएका थिए। त्यससगै सभामुखले चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए।  

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेशमा सरकारले सोमबारै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा तीन दल जुटेपछि सोमबार मन्त्रीपरिषद बैठक बसेर हतारमा अधिवेशन अन्त्यको निर्णय गरीएको थियो।  

मुख्यमन्त्री पोख्रेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर सुरु गरेको सुइको सोमबार सरकारले पनि पाएको थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद सरकारविरुद्धको हस्ताक्षर अभियानमा छन्। तर जसपामा भने आन्तरिक विवाद देखिएको छ। प्रदेश सभामा जसपाका ६ जना सांसद छन्। ती मध्ये तीन जनाले हस्ताक्षर गरेपनि तीन जना अझै पनि हस्ताक्षरका लागि राजी नभएको बताइएको छ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन्। मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत चाहिन्छ।

प्रकाशित: २४ चैत्र २०७७ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App