१५ चैत्र २०८० बिहीबार
राजनीति

तानातानमा ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ। यसैक्रममा आइतबार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन्।

पौडेल ठाकुरलाई भेट्न आइतबार बिहान उनको निवास सानोठिमी पुगेका थिए। नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए। पौडेलले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनुपर्ने बताएका थिए। ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए। पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए। ‘कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ। तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले पनि गर्न सक्छ भन्ने धारणा पौडैलजीको रह्यो’, झाले भने, ‘उहाँले अर्को व्यक्ति को हुन सक्छ भन्नेबारेमा भने खुलाउनु भएन।’

नेता झाका अनुसार भेटवार्तामा जसपासँग छलफल नै नगरी कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णयप्रति ठाकुरले आपत्ति प्रकट गरेका थिए। ‘कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरेरमात्र नेतृत्वको विषय टुंग्याउनुपर्नेमा पहिले नै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ’, झाले भने, ‘यो भनेको अर्घेल्याइँ गरेको जस्तो देखियो।’

पौडेलसँगको भेटमा ठाकुरले जसपाले उठाउँदै आएका मुद्दा जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने पार्टी नीति रहेको बताएका थिए। पछिल्लो समय ठाकुर प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफल र सम्पर्कमा छन्। ठाकुरसँग अहिले ओली, कांग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन्। तर ठाकुर भने ओलीसँग निकट देखिएका छन्। प्रधानमन्त्री ओलीले जसपाले उठाएका माग पूरा गर्ने आश्वासन दिएकाले ठाकुरले उनीसँग धेरै छलफल जारी राखेको नेता मनीष सुमनले बताए। ‘सरकारको नेतृत्व गरेको व्यक्तिले नै माग पूरा गर्ने आश्वासन दिनुभएको छ’, सुमनले भने, ‘त्यसैले प्रधानमन्त्रीसँग ठाकुरजीले छलफल जारी राख्नु भएको छ।’  

प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गर्न एउटा कार्यदल समेत गठन गरेका छन्। कार्यदलमा दुवै पक्षका नेताहरूलाई राखिएको छ। जसपाले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्यदलका सदस्यहरूले बताएका छन। जसपाबाट कार्यदलमा रहेका सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण ठाकुरसँग निकट मानिन्छन्।  

सरकारमा सहभागी भएमा या बाहिर बसेरै समर्थन गरेमा उसलाई महत्वपूर्ण मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएकोे जसपाका नेताहरू बताउँछन्। जसपाले समर्थन गरे उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्नसमेत प्रधानमन्त्री तयार भएको दाबी जसपाका एक नेताको छ। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्, जसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्।  सत्ता समीकरणका लागि दुवैतिरबाट प्रस्ताव आएपछि जसपाका शीर्षमात्र होइन, दोस्रो तहका नेताहरूसमेत दुई धारमा बाँडिएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव निकट नेताहरू माओवादी केन्द्र र नेपाली कांग्रेससँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन्। ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू भने ओलीसँग निकट देखिएका छन्। सत्ता समीकरणका विषयमा दलहरूबीच विभिन्न स्तरमा पटकपटक भएका वार्ता टुंगोमा पुग्न नसक्दा राजनीतिक अन्योलले निकास पाउन सकेको छैन।

प्रकाशित: २३ चैत्र २०७७ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App