coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा

समर्थन फिर्ता लिँदै माओवादी

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्। माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्।  

यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। ‘राजीनामा त माग्यामाग्यै छन् त। मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु हरेक दिन राजीनामा माग्या छन्, माग्या छन्। मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ ओलीले भने। प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ।

‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’, समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन्।

एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक निर्माणको शनिबार शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले अहिलेको संसद्मा रहेको अंकगणितलाई परिवर्तन नगरी नहुने बताए। ‘संसद्मा यस्तै हो, कहिलेकाहीं देशको आवश्यकता र संसद्को अंकगणितमा फरक पर्छ। कहिले कृत्रिम ढंगले संसद्को गणित यताउता हुन्छ’, ओलीले भने।  

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै फागुन ११ गते उल्टाइदिएपछि ओलीको ध्यान अर्ली निर्वाचनतर्फ केन्द्रित भएको छ। ‘संसद्को अंकगणितले अनुपयुक्त आकार लिइरहेको छ, उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्छ। संसद्लाई देशको आवश्यकताअनुसारको अंकगणितीय बनाउनुपर्छ’, उनले भने।  

प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि जनता समाजावादी पार्टी (जसपा) सँग प्रस्ताव गरे पनि त्यो सार्थक बन्न सकेको छैन। सत्ता सहकार्य कोसँग गर्ने भन्ने विषयमा जसपाभित्र आन्तरिक विवाद भएपछि उसले ओली नेतृत्वको सरकारलाई समर्थन गर्न सकेको छैन। जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र नेता डा। बाबुराम भट्टराई ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने र अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो समर्थन गर्ने कित्तामा देखिएका छन्। 

जसपाभित्रको विवाद, आफ्नै पार्टी एमालेभित्र उत्पन्न विवादका कारण माधव नेपाल पक्ष समानान्तर कमिटी निर्माणमा लागेकाले ओली अप्ठेरोमा परेका छन्। उनी अप्ठेरो फुकाउन तत्काल अर्ली निर्वाचन घोषणा गर्न चाहन्छन्। ‘भरसक संसद्मा म्यानेज गर्न खोज्नुपर्छ। संसद्मा व्यवस्थापन भएन भने ताजा जनादेशमा जानुपर्छ। ढिलोचाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ’, उनले भने।

तर एमालेभित्र नेता नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले ‘प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपतका लागि मात्रै भएको टिप्पणी गरेका छन्। ‘अहिले सरकार परिवर्तन सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन, बल जसपासँग छ। जसपाचाहिँ प्रधामन्त्री ओलीसँग सघन संवादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन। फेरि त्यही प्रश्न आउँछ, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने, सरकार परिवर्तनको गुन्जायस छैन’, रिजालले भने। सरकार परिवर्तन भए पार्टीभित्रै आन्तरिक संघर्ष गरेर अघि बढ्ने योजनामा नेपाल पक्ष छ।

पौडेल–शर्मा भेटघाट

एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्र स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ। अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ। पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए।

प्रकाशित: २२ चैत्र २०७७ ०१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App