९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशसभा : तीन महिना पछि स्थायी राजधानीमा स्थायी भवन

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेशसभा तथा सरकारका अन्य स्थायी संरचना निर्माणको काम थालिएको छ । प्रदेश पूर्वाधार बिकास प्राधिकरणले प्रदेशसभा संगै सरकारका अन्य निकायका स्थायी संचरनाको काम तिब्र रुपले अगाडी बढाएको छ । प्राधिकरणका अनुसार आगामी तीन महिनापछि स्थायी राजधानी भालुवाङमा प्रदेशसभाको स्थायी भवन निर्माण भैसक्ने छ । हाल अस्थायी राजधानी बुटवलमा भाडामा सञ्चालन हुँदै आएको प्रदेशसभा असार पश्चात आफ्नै स्थायी भवनमा सञ्चालन हुने छ ।  

प्राधिकरणले असार मसान्त सम्म निर्माण पुरा गर्ने गरि प्रदेशसभा भवन निर्माणका लागि ठेक्का खोलिसकेको छ । ‘आगामी असार मसान्तसम्म प्रदेशसभा भवन निर्माणको काम सक्ने गरि प्रकृया सुरु भैसकेको छ,’प्राधिकरणका प्रमुख ध्रुव मजगैयाँले भने ‘यहि अवधि भित्र काम सक्ने सर्तमा ठेक्का खोलिसकेका छौँ ।’ उनका अनुसार प्रदेशसभा भवन निर्माणका लागि ६ करोड रुपैयाँ बिनियोजन भएको छ ।  

असार मसान्त सम्म स्थायी संरचना नै निर्माण हुने भएपछि प्रदेशको संसद पनि त्यसपछि मात्रै स्थायी राजधानीमा सुरु हुने छ । यसअघि राप्ती प्राविधिक शिक्षालयको भवनको स्वामित्व पाए त्यहि भवनमै तत्काल प्रदेशसभा सञ्चालन गर्न सकिने प्रदेशसभा तथा प्रदेश सरकारले जनाएका थिए । तर प्रदेशसभाको स्थायी संरचना नै निर्माण हुन थालिसकेकाले प्रदेशसभा नयाँ स्थायी संरचनामा सञ्चालन गर्ने मनस्थितीमा सरकार पुगेको हो ।  

संघीय सरकार मातहतको प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई प्रयोगको अधिकार दिएपछि प्रदेश सरकारले शिक्षालयको जग्गामै प्रदेशसभाको स्थायी संरचना निर्माण गर्न थालिएको हो । गत १ गते संघीय सरकारले शिक्षालयको भौतिक संरचना तथा १७ बिघा जग्गा भोगाधिकार प्रदेश सरकारलाई दिने निर्णय गरेको थियो । प्रदेशसभाले संघीय सरकार समक्ष केहि समय अघि माग गरेको थियो ।  

‘राप्ती प्राविधिक शिक्षालयको जग्गामै प्रदेशसभाको भवन निर्माणको काम थालेका छौँ,’ प्राधिकरणका  प्रमुख मजगैयाँले भने ‘संघीय सरकारले उक्त शिक्षालयको भौतिक संरचना तथा जग्गाको भोगाधिकार प्रदान गरेपछि शिक्षालयकै जमिनमा निर्माण गर्ने गरि प्रकृया अगाडी बढाएका हौँ ।’

असार मसान्त सम्म निर्माण सकि सक्ने गरि प्रदेशसभा भवन निर्माणको ठेक्का खोलिसकेको प्राधिकरणले मन्त्रालयको भवन निर्माणको क्रमलाई दोस्रो चरणमा राखेको छ । प्रदेशसभा भवन निर्माणको कामसंगै मन्त्रालयका भौतिक संरचना निर्माणका लागि डिपिआरको काम प्राधिकरणले गरेको छ । ‘हामीहरुले पहिलो प्राथमिकतामा राखेर प्रदेशसभा भवन निर्माणको काम अघि बढाएका छौँ,’ मजगैयाँले भने ‘प्रदेशसभा भवन निर्माणको ठेक्का आह्वान भैसकेको भएपनि मन्त्रालयको भवन निर्माणका लागि भने डिपिआरको काम सुरु भएको छ ।’ मन्त्रलयका भवनको डिपिआरका लागि कन्सल्टेन्ट चुनिईसकेको छ । यो कन्सल्टेन्टले मन्त्रालय भवनको डिजाईन गर्ने र सोही अनुसार निर्माणको काम प्रारम्भ हुने मजगैयाँले बताए ।

प्रकाशित: २१ चैत्र २०७७ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App