coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार ढिलो गरी सुरु भएको केन्द्रीय समिति बैठकले कांग्रेस नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको हो। ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सरकारको नेतृत्व गर्ने नैतिक अधिकार छैन। प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्नुपर्छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेसले नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय भएको छ।’

नयाँ सरकार गठनका लागि ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेर बाटो खोल्नुपर्ने ठहर बैठकले गरेको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। ‘सरकारले संविधान र जनविरोधी क्रियाकलाप जारी राख्यो र आफ्नै पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्ननसक्दा प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम उठायो,’ केन्द्रीय सदस्य पौडेलले भने, ‘सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरिदिएको छ । त्यसपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपथ्र्याे। त्यसो नभएकाले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको हो।’

बैठकअघि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरूको लामो छलफलपछि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णयमा कांग्रेस पुगेको हो। पार्टी सभापति देउवा तत्काल प्रधानमन्त्रीको राजीनामा माग्ने पक्षमा नरहेको भन्दै पौडेलसहितका इतर पक्षीय नेताहरूले आलोचना गरिरहेका थिए। केही दिन यता माओवादी केन्द्रसँगको छलफललाई तीव्र बनाएको कांग्रेस नयाँ सरकार गठनका लागि तयार देखिएको हो।  

बैठकले पार्टी महाधिवेशनको कार्यतालिका हेरफेर गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको समय चैत मसान्तसम्म सारेको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए। पटकपटक संशोधित कार्यतालिकाअनुसार चैत १० गतेभित्र सदस्यता वितरणको काम सक्ने निर्णय भएको थियो। उक्त समयभित्र एकतिहाइ मात्र सदस्यता नवीकरण भएपछि समय थप गरिएको हो।  

बैठकले संगठन समायोजनको प्रस्ताव पारित गरेको छ। उपसभापति विमलेन्द्र निधि संयोकत्वमा गठन भएको समितिले विभिन्न राजनीतिक दल छाडेर कांग्रेसमा समाहित भएकाका लागि र संविधानको नयाँ व्यवस्थाअनुसार संगठन समायोजन गर्न पहल गरेको थियो । बैठकले कांग्रेस निर्वाचन समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ।

अधिकारीको राजीनामा स्वीकृत

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट राधेश्याम अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गरेको छ। पार्टीकै शीर्ष नेताहरूले निर्वाचन समितिका विषयमा प्रश्न उठाएपछि असन्तुष्ट अधिकारीले केही समयअघि राजीनामा दिएका थिए।

प्रकाशित: २१ चैत्र २०७७ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App