८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीले पार्टीलाई राज्य दोहनमा लागेको गिरोहमा परिणत गरेः घनश्याम भुसाल

नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्रो पार्टीलाई गुटमा बदलेको आरोप लगाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै ओलीले बनाएको गुट अहिले राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको बताएका हुन्।

उनले असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको बताए।  

उनले भनेका छन्, 'असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो। एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।'

अध्यक्ष ओलीले पार्टीको उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेका छन्। ओलीले पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट भुसाल र पाण्डेलाई निलम्बन गरेका हुन्। यसअघि अध्यक्ष ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

प्रकाशित: १९ चैत्र २०७७ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App