coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?

प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई भेट गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गएर दुई घण्टासम्म भेट गर्नुलाई भने अस्वाभाविक मानिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेट गरेपछि उनको तीव्र आलोचना भइरहेको हो।

प्रधानमन्त्री र सभामुखबीच विगतमा पनि भेट नभएका होइनन्। संसद्मा प्रधानमन्त्री आएका बेला सभामुखले प्रधानमन्त्रीसँग अनौपचारिक भेट गर्ने चलन छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विगतमा धेरैपटक प्रधानमन्त्रीसँग भेट गरेका छन्। तर, धेरैपटक आफ्नो कार्यकक्ष सिंहदरबार वा संसद् बैठक बसेको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेट भएको छ।

स्रोत भन्छ, ‘नेम्वाङले प्रधानमन्त्रीलाई उनको सरकारी निवासमा गएर औपचारिक भेट गरेको कुरा सायद छैन होला।’ सभाध्यक्ष नेम्वाङले भने यस विषयमा केही बोल्न चाहेनन्, उनले यति मात्र भने ‘प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखि भेट हुनसकेको थिएन सायद त्यही भएर होला बालुवाटार पुगेर लामो छलफल गर्नुभयो।’

सभामुख जस्तो उच्च पदाधिकारीले प्रधानमन्त्रीको नीजि निवास बालुवाटार मै पुगेर औपचारिक रूपमा प्रधानमन्त्री भेट गर्दा त्यसले व्यवस्थापिकाको मर्यादामा ठेस पुग्न सक्ने राजनीतिक विष्लेषण छ। प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले विदाको दिन निवासमा पुगेर औपचारिक भेट गरेपछि के सभामुख प्रधानमन्त्रीको कर्मचारी हुन् भन्ने प्रश्न उठेको छ।  

संविधानविद् डा.भीमार्जुन आचार्यले प्रधानमन्त्रीको र सभामुखबीच औपचारिक र निजी भेट हुने संसदीय अभ्यास रहेको बताए। ‘शनिबारको प्रधानमन्त्री र सभामुखबीचको औपचारिक भेट हो भने तौरतरिकका यस्तो भेटिँदैन,’ उनले भने। ‘प्रधानमन्त्री कार्यपालिकाको प्रमुख हो, भने सभामुख संसद्को प्रमुख हो, प्रधानमन्त्रीले सभामुखलाई भेट गर्दा आफू निकटको कर्मचारीलाई भेट गरेजस्तो भयो, आगामी दिनमा ख्याल गर्नुपर्छ,’ डा.आचार्यले भने।

स्रोतका अनुसार प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखिको तिक्तता रहेका कारण निवासमा पुगेर लामो भेट भएको हुनसक्छ। स्रोतले भन्यो सभामुखले प्रधानमन्त्री कार्यालय सिंहदरबारमै भेट गर्नुपर्दथ्यो, प्रधानमन्त्रीको निवासमा भेट गर्नुभन्दा १८ गतेको संसद् बैठक बस्नुअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा भेट गर्नुपर्दथ्यो वा चैत १० गतेको संसद् बैठक बस्नुअघि भेट गर्नुपथ्र्यो।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार ११ बजेदेखि २ बजेसम्म भेट भएको छ। 

भेटमा संसद् गतिशील बनाउने विषयमा छलफल भएको कुरा बाहिर आए पनि भेट राजनीतिक प्रकृतिको भएको स्रोतको दाबी छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने सभामुख सापकोटाले दाहालको केही सन्देश छोडन पनि बालुवाटार पुगेको हुनसक्ने अनुमान गरिएको छ। एमालेभित्रको आन्तरिक विवादसँगसँगै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परिरहेको अवस्था र स्वयं सभामुखको पनि पद धरापमा पर्न पुगेको छ।  

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ राजनीतिक वृत्तमा नयाँ उथलपुथल आउन सक्ने भएपछि त्यसबारे आउने संकटमा सभामुख सापकोटाले मध्यस्थता गर्न खोजेको हुनसक्ने अनुमान पनि छ। संसद्मा टेबुल भएका अध्यादेश स्वीकृत गर्न संसद्मा पेश गर्नुपर्ने अवस्था र टेबुल हुन नसकेका अध्यादेश टेबुल गर्नुपर्ने अवस्था छ। सरकारले बिजनेस नदिएपछि संसद्का बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गर्नुपर्ने अवस्था आएका कारण सभामुखले यस विषयमा पनि छलफल गरेको स्रोत बताउँछ। छलफलमा अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी), अध्यादेश स्वीकृतिको र अन्य विधेयक पेश गर्ने विषयलाई सभामुखले कसरी लैजाने भन्ने प्रशंग उठाएको स्रोत बताउँछ।  

सरकार माथि प्रश्न उठिरहेका बेला संसदमा कुनै पनि प्रस्ताव प्रस्तुत गर्नु निकै खतरनाक मानिन्छ। कुनै पनि प्रस्ताव फेल भयो भने सरकारमाथि नैतिक प्रश्न उठ्दछ। यस्तो अवस्थामा सरकारले कुनै पनि प्रस्तावलाई निर्णयमा लैजान मान्दैन, सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले प्रस्तावको विपक्षमा मतदान गर्ने निश्चित देखिन्छ, त्यो मात्र नभई एमालेभित्र पनि फ्लोरक्रस हुनसक्ने अवस्था भएका कारण प्रधानमन्त्रीले कुनै पनि प्रस्ताव संसद्मा अघि बढाउन नखोजेको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले चैत अन्तिम साताभन्दा उता संसद् बैठक नलैजाने तयारी गरेका छन्। १८ गतेको संसद् बैठक पछि अर्को एउटा बैठक मात्र बस्ने सम्भावना रहेको स्रोत बताउँछ। जेठ १५ गते बजे ल्याउनु पर्ने भएका कारण वैशाखको तेस्रो हप्ताभित्र बस्नेगरी बर्खे अधिवेशन बोलाउनुपर्ने स्रोत बताउँछ।

प्रकाशित: १७ चैत्र २०७७ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App