८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्छौं’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने महामन्त्री डा.शशांक कोइरालाले बताएका छन्। उनले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताए।

‘हामी तीन जना कोइराला (शशांक, शेखर र सुजाता कोइराला) अहिले एक ठाउँमा छौं, भोलि पनि हुनेछौं, महाधिवेसनमा पनि मिलेर अघि बढ्नेछौं,’ महामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ द्वारा इटहरीमा बिहीबारदेखि आयोजित प्रदेश १ स्तरीय नगरपालिका फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा भने।

कार्यक्रममा शशांक, शेखर र सुजाता तीनैजना उपस्थित भएका थिए। उनले कोइराला परिवारबीच कुनै समस्या आउन नदिन आफूले भूमिका खेल्ने पनि प्रस्ट्याए। नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा बढी कोइराला परिवारमा नेतृत्व रहेको थियो। १३ औं महाधिवेशनमा भने कोइराला परिवारबाट नेतृत्व शेरबहादुर देउवाले लिएका थिए।

महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको नेतृत्व कसले लिने भन्नेबारे प्रस्ट नपारे पनि जो भए पनि कोइराला परिवार मिलेरै सहमतिमा हुने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राजीनामा दिनुपर्ने बताए। ‘पुस ५ गते निर्वाचित संसद् विघटन गरेकोमा त्यसविरुद्द अदालतको निर्णय आएपछि उहाँले तत्काल राजीनामा दिनुपथ्र्यो,’ उनले भने, ‘ओली सरकारले कुनै नियम पालना गरेको छैन।’  

कार्यक्रममा नेता शेखर कोइरालाले निर्वाचनबाहेक अब अन्य कुनै विकल्प नभएको दाबी गरे। ‘पुस ५ गते प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएकोमा अदालतले संसद् पुनःस्थापना गरे पनि संसद् अनिर्णयको बन्दी भएको छ,’ उनले भने, ‘सरकारले संसद्लाई बिजनेस दिन सकेको छैन, अब कसरी जाने ?,’ उनले संसद नै अनिर्णयको बन्दी भएकाले गर्दा अबको उत्तम विकल्प भनेकै निर्वाचन भएको जिकिर गरे।‘अब देशलाई कसरी निकास दिने भनेर कांग्रेसले छलफल गरिरहेको छ,’ उनले भने, ‘चाँडै नै निकासा निकाल्छ।

’कार्यक्रममा नेतृ सुजाताले मुलुकमा अस्थिरता भएकाले गर्दा देश र पार्टी बनाउनका लागि सहमति, सहकार्य र एकताबाट सम्भव हुने जिकिर गरिन्। ‘देशको विकासका लागि दलहरूबीच पनि एकता हुनुपर्छ,’ उनले भनिन्, ‘विकासका लागि अस्थीरता हुनुभएन, शान्ति हुनुपर्‍यो।’ कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता तथा सुनसरी जिल्ला सभापति राजीव कोइरालाले गिरिजाप्रसाद कोइरालाले अबलम्बन गरेको सिद्दान्त सहमति, सहकार्य र एकतालाई आत्मासाथ गरेर बढ्न सुल्झाए।

प्रकाशित: १३ चैत्र २०७७ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App