७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘ओलीलाई प्रचण्डको समर्थनका कारण बहुमत छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार बहुमतको संयुक्त सरकार भएकोले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु उचित हुने बताए। 

नेपाल दलित संघले धरानद्वारा आयोजित दुई दिने अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रमको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकार संयुक्त र बहुमतको भएको बताए। बहुमतको सरकार भएकैले कांग्रेसले चाहँदैमा नयाँ सरकार नबन्ने देउवाको जिकिर थियो। ‘हिजोको नेकपा अदालतको फैसलापछि दुईवटा पार्टी भयो। एउटा सरकारमा छ, अर्कोले समर्थन गरेको छ,’ देउवाले भने, ‘प्रचण्डले समर्थन फिर्ता लिएको छैन, त्यसैले यो संयुक्त सरकार भयो, संयुक्त भएपछि बहुमतको भयो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूलाई प्रधानमन्त्री अफर आउँदा पनि किन नखाएको भनेर निरन्तर प्रश्न भइरहेको भन्दै यथार्थ बुझ्न नेता, कार्यकर्तालाई आग्रह पनि गरे। उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाँदै खाँदैन भन्छन्। के बुझ्नुपर्‍यो भने जबसम्म बहुमतको सरकार छ, तबसम्म हामीले विपक्षी पार्टीको भूमिका खेलिरहने हो, देशभर संगठन गर्ने हो। आउँदा दिनमा जनताको इच्छाअनुसार अगाडि बढ्ने हो।’ उनले प्रधानमन्त्रीको लागि मरिमेट्ने नभए पनि आइपरेमा नभाग्ने पनि प्रष्ट पारे।  

पुलिसले पार्टीको काम गर्ने ?

सभापति देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरूलाई प्रहरीले ज्यादती गरेको भन्दै आक्रोश पनि पोखे। उनले कम्युनिस्ट पार्टीमा लाग्न प्रहरीले दबाब र धम्की दिइरहेको भन्दै कुनै हातलमा नछोड्ने पनि चेतावनी दिए। ‘कम्युनिस्ट पार्टीमा आइज भनेर हाम्रो साथीहरूलाई अनावश्यक धम्की दिइरहेको छ, जनताले तिरेको करको तलब खान्छन्। कुनै पार्टीले दिएको तलब खाएको होइन,’ देउवाले भने, ‘पुलिसले कुनै पार्टीको काम गर्न पाइन्छ ? हामी कुनै हालतमा छोड्दैनौं। साथीहरू अन्याय नगर्नुस्, गल्ती नगर्नुस्। हाम्रो साथीभाइलाई अनावश्यक दुःख दिनेलाई छोड्दैनौं।’

यसैबीच, देउवाले मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका थिए। देउवाले कांग्रेस सरकार गिराउने र बनाउने खेलमा पनि नलाग्ने धारणा राखे। उनले कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नलैजाने स्पष्ट पारे। ‘कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लाँदैन,’ देउवाले भने‘अरू कुनै पार्टीले लैजान्छ भने हामीलाई थाहा छैन।’ 

देउवाले कांग्रेसलाई सरकारमा जाने हतार नभएकाले विपक्षीकै धर्म निर्वाह गर्ने बताए। ‘कांग्रेस विपक्षी हो’ उनले भने, ‘विपक्षमै बस्छ।’ देउवा धरानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल हुँदै आएका हुन्।

प्रकाशित: ११ चैत्र २०७७ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App