coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको ‘गुट बिजारोपण’ : सक्रिय सदस्यतामै ‘अनिवार्य’ भागबण्डा

बुधबार दाङमा पत्रकारहरुले अब पार्टीमा रहने भुमिकाका बारेमा सोध्दा कांग्रेस नेता डा. शेखर कोईरालाले जवाफ दिए ‘कांग्रेसका सबै टिम संग बसिरहेको छुु ।’ उनले यो प्रसंग कांग्रेस भित्रका जिल्लागत गुटका बारेमा निकालेका थिए । उनले थपे ‘दाङमै पनि कांग्रेसका चार÷पाँच थरी समुहहरु छन्, सबै समुहसंग बसिरहेको छु, तर कुन समुहले मलाई सहयोग गर्छ भन्ने पनि मैले बुझेको छु ।’ कांग्रेसको आगामी सभापतिको दौडमा रहेका कोइरालाले केन्द्र स्तरमा मात्रै हैन, जिल्ला—जिल्लामा कांग्रेस भित्र अनेकन गुट रहेको नकार्न सकेनन् । फलतः उनले दाङकै चार÷पाँच गुट संग बसेर सभापतिका लागि सहयोग माग गरेको पत्रकार सम्मेलनमै स्वीकारे ।

लामो समय देखि गुट उपगुटको शिकार बन्दै आएको कांग्रेस भित्र मुलतः केन्द्रीय नेतृत्वले नै गुट खडा गरेको आरोप लाग्ने गर्दछ । केन्द्रीय नेताहरुकै गुटगत राजनीतिका कारण कांग्रेसले नोक्सानी ब्यहोर्नु परेको भनेर जिल्ला तहबाट नेतृत्व पंक्तीमाथि लाग्ने आरोप एक अर्थमा सहि होला । तर कांग्रेसको गुट श्रृंखलाको आरोपी केन्द्रीय नेतृत्व भएपनि कांग्रेस भित्रको गुटगत राजनीति पार्टीको तल्लो तह वडा स्तरबाटै ब्यापक रुपमा सुरु भैसकेको हुन्छ । यो राजनीति वडा तहकै नेताहरुले सुरु गरिसकेका हुन्छन् ।  

बुधबार दाङमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले भनेजस्तै दाङमा केन्द्रीय नेताहरुका खेमासंगै जिल्ला गत नेताहरु आआफ्नै गुट निर्माण सकृय छन् । भलै कांग्रेसले आयोना गर्ने भेला वा सभाहरुमा उनै नेताहरुले केन्द्रीय स्तरका नेताहरु गुट उपगुटमा लागेको भनेर आलोचना गर्न पछि पर्दैनन् । गुटउपगुटमा सकृय जिल्ला स्तरका नेताहरुको गुटको श्रृखंला वडा तहबाटै सुरु हुन्छ । अहिले कांग्रेसको महाधिवेशनको चर्चा चलिरहेका बेला वडा तहमा कांग्रेसका नेताहरु बढि केन्द्रीत भएका छन् । कारण  हो — सकृय सदस्यता वितरण । 

फलतः गुटको श्रृंखला वडा तहमा सकृय सदस्यता वितरण देखिनै प्रारम्भ हुने गरेको छ ।  नेताहरुले पार्टीले दिने सकृय सदस्यता संख्या बाँडफाँड गरेरै टुंग्याईरहेका छन् । कसले कति पाउने ? भनेर दामाशाही हिसाबमा उनिहरुले भागवण्डा गर्ने गरेका छन् । कतिपय वडाहरुमा यहि भागवण्डा नमिल्दा सदस्यता संख्या टुंगो लाग्नै सकेको छैन ।  

घोराही उपमहानगरपालिकाको एक वडामा बुधबार बल्ल सदस्यता संख्या टुंगो लाग्यो । बुधबार वडा तहका एक नेताले आफ्नो भागमा ५० जना परेको सुनाए । वडाका सभापति, उपसभापति सहित ति नेताले सकृय सदस्यता संख्या भागबण्डा गरेर टुंग्याए । ‘आआफ्नो भागको कोटा छुट्याएर बल्ल तल्ल मिलायौँ,’ ति नेताले भने ‘मेरो भागमा ५० जना परे ।’ अहिले संख्याको भागबण्डा गरेका वडा तहका नेताहरुले अब आ—आफ्नो कोटामा आफ्नै निकटस्थहरुको नाम सिफारीस गर्ने छन् । ताकि आफ्नो कोटामा परेकाहरुले आँफूलाई मात्रै नेता मानुन भन्ने मानकिसता वडा तहका नेताहरुले बोकेका छन् ।  

कांग्रेसको क्षेत्रीय प्रतिनिधि चुनिए मात्रै पार्टीको उपल्लो पदमा प्रतिष्पर्धी बन्न पाईने कांग्रेको बिधानले उनिहरुलाई वडा तहमै गुट निर्माण बाध्यकारी जस्तै बनिदिएको छ । फलतः उनिहरुले क्षेत्रीय प्रतिनिधि चयनका लागि वडा तहमा सकृय सदस्यहरु पकेटमा राख्न चाहन्छन् । ‘पार्टीको कुनै पनि उपल्लो पदका लागि वडा तहबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर आउनु पर्छ,’कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेसरी गौतमले भने ‘फलतः कांग्रेसको राजनीतिका लागि वडा तहको निर्वाचन मेरुदण्ड जस्तै हो ।’

वडा तहमा चल्ने सकृय सदस्यको भागवण्डाले सकृय सदस्यहरुलाई कुनै न कुनै गुटको राजनीतिक संस्कार सिकाईसकेको हुन्छ । आँफ्नो कोटामा सिफारीस भएकाहरुलाई सिफारीस गर्ने नेताहरुले त्यसको जस एकलौटी लिन खोज्छन् । अनि अर्को समुहको नेताले त्यो सकृय सदस्यलाई फरक गुटको देख्न थाल्छ । अनि नयाँ सकृय सदस्य समेत कांग्रेसको गुटगत राजनीतिमा अभ्यस्त बन्दै जाने गरेको जानकारहरु बताउँछन् । ‘केन्द्रमा पार्टी गुटमा लाग्यो भनेर हामी आरोप लगाउँछौँ,तर रुखको जरा देखिनै गुटको श्रृंखला सुरु भैसक्छ,’कांग्रेसका पूर्व जिल्ला सभापति गौतमले भने ‘वडा तहमा सकृय सदस्यता संख्या भागवण्डा गर्न थालेपछि गुटको सुरुवात त वडातहबाटै सुरु भैहाल्यो नि ।’

त्यसमापनि कोटा आधारमा सकृय सदस्यता वितरण हुने भएकाले कोटामा नपर्दा पार्टीमा योगदान गरेकाहरु नपर्ने र योगदान नगरेकाहरु सकृय सदस्यको योग्य बन्ने खतरा रहने हुन्छ । पार्टीको बिधान ः पार्टीमा गरेको योगदानको मुल्यांकनका आधारमा सकृय सदस्य दिईनु पर्ने भन्ने छ । ‘आफ्नो अनुकुलको मान्छे मात्रै आफ्नो कोटामा हाल्नु पर्यो,’ जिल्लाका अर्का कांग्रेस नेताले भने ‘कोटा पुरा गर्ने तर्फ मात्रै ध्यान हुने हुँदा त पार्टीमा योगदान नगरेकाहरु सकृय सदस्यको काबिल हुने र योगदान गरेकाहरु छुट्ने समस्या स्वतः भैहाल्छ नि ।’

वडा तहमा सकृय संख्याको भाग खोज्ने वडा तहका नेताहरुलाई उपल्लो जिल्ला तहका नेता बिशेषले पकडिरहेका हुन्छन् । उनिहरु आफ्नो गुटका जिल्ला तहकै नेताहरुको निर्देशन अनुसार सदस्यता संख्याको मागमा अडिग रहेका हुन्छन् ।  

सकृय सदस्यता वितरण देखिनै गुटगत राजनीति सुरु हुने कांग्रेसभित्र विगतका बर्षहरुमा पनि बाँडफाँडमै सकृय सदस्यता टुंग्याईएको नेताहरु बताउँछन् । वडा तहमा प्रभाव राख्न सक्ने नेताहरु बिच भागबण्डा नमिल्दा सम्म सकृय सदस्यताको टुंगो नै नलाग्ने एक नेताले बताए । ‘बिगतमा पनि यसैगरि भागवण्डा गरेरै सकृय सदस्यता टुंग्याईएका हुन्’कांग्रेसका एक क्षेत्रीय सभापतिले भने ‘भागबण्डा निमलदा सम्म त सकृय सदस्यताको टुंगो पनि लाग्दैन, बिबादमै अड्कीईरहन्छ ।’

 

प्रकाशित: ४ चैत्र २०७७ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App