८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस सर्वदलीय सरकारको नेतृत्व गर्न तयार छ : प्रकाशशरण महत

कार्यक्रमलाई सम्बोधन गर्दै डा. महत । तस्बिर: योगेश रावल

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस  सर्वदलीय सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन।  कैलालीको टीकापुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. महतले तर अहिलेकै अवस्थामा भने कांग्रेसलाई सरकारमा जाने हतार नभएको बताए।

‘सर्वोच्च अदालतको फैसलापछि एमालेसँग मात्रै १२१ सिट छ । कांग्रेससँग ६१ मात्रै छ । सरकार बनाउन १३८ सिट आवश्यक पर्नेमा सबैलाई मिलाउँदै शर्तहरु थप्दै सरकारमा जानुको औचित्य रहन्न,’ उनले भने, ‘तर सबैको आग्रह पश्चात उपयुक्त समय आए कांग्रेसले नेतृत्व गर्नेछ ।’  

उनले वर्तमान सरकारले काम गर्न नसकेर देशलाई अन्यौलतातर्फ धकेलेको आरोप लगाए । उनले जनताले दुई तिहाई बहुमत दिएको सरकारबाट कुनै उपलब्धीपूर्ण काम हुने नसकेको बताए ।  

उनले पछिल्लो अवस्थामा कांग्रेस नेतृत्वले अख्तियार गरेको रणनीति परिपक्व भएको बताए। ‘संसद पुनःस्थापनामा होस् वा अहिले सरकार बनाउने कुरामा होस् कांग्रसले लिएको नीति उपयुक्त छ’, उनले भने, ‘संविधानतः पार्टी नफुट्दै सरकारमा जानका लागि काँग्रेसले पहल गर्नु उपयुक्त हुँदैन ।’

उनले कांग्रेसले आगामी महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने कानुनी जटिलतालाई मध्यनजर गर्दै काम गरिरहेको जानकारी दिए । उनले क्रियाशील सदस्यहरुको विवाद तत्काल समाधान गर्दैै महाधिवेशनमा होमिन सबैलाई आग्रह गरे । कांग्रेसले आगामी भदौसम्ममा अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

सोही कार्यक्रममा पूर्वमन्त्री रामजनम चौधरीले महाधिवेशन पछि मात्रै कांग्रेस सत्तामा जानुपर्ने बताए । उनले अहिले नै सत्तामा गए पार्टी भित्र विवाद बढ्ने बताउँदै पहिले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित: ३ चैत्र २०७७ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App