१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।  

शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।

दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए । ‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने ।  

स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न अजेन्डामा छलफल भएको बताए । ‘साथीहरूले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने । एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुवै पार्टीका संसदीय दल अझै अलगअलग छन् । शुक्रबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा. सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए ।  

‘प्रधानमन्त्रीज्यूले ठाकुरजीलाई देशलाई तपाईंलाई आवश्यकता छ । सरकारको नेतृत्व लिने स्थिति पनि आउन सक्छ भन्नुभएको छ’, झाले भने, ‘यो भनेको ठाकुरजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको आसयको रुपमा हामीले बुझन सक्छौं ।’

संसदीय दलको बैठकपछि जसपाका नेताले कांग्रेससँग पनि छलफल गरेका थिए । माओवादी केन्द्रसँग पनि छलफल सुरु गर्ने जसपाका नेताहरूले जनाएका छन् । जसपा स्रोतका अनुसार सरकारमा जाने वा सरकारको नेतृत्व गर्ने विषयमा जसपामा दुई मत छ । भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा छन् भने ठाकुर र राजेन्द्र महतो एमालेसँग मिलेर समीकरण बनाउने पक्षमा छन् । 

स्रोतका अनुसार पार्टीभित्र अहिले ठाकुर र महतोको मत बलियो देखिएको छ । ‘महन्थलाई प्रधानमन्त्रीको प्रस्ताव आयो तर पार्टीभित्रै अवरोध गर्न खोजियो भने हामी पार्टी फुटाउन पनि तयार छौं’, ठाकुर निकटका एक नेताले भने ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App