coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कैलालीमा झडप

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद उत्पन्न भएको छ। यसै विषयलाई लिएर धनगढी उपमहानगरपालिका–३ स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार दुवै पक्षबीच झडप भयो।

सर्वोच्चको फैसलापछि पार्टी कार्यालयहरूमा नेकपा एमाले लेखेका ब्यानर र साइन बोर्ड झुन्ड्याउने क्रम चलेको छ। जिल्ला पार्टी कार्यालय कैलालीमा मंगलबार दुवै पक्षको उपस्थितिमा नेकपा एमालेको बोर्ड टाँगिएको थियो। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ६ जिल्लाका कार्यालयमा नेकपा एमालेको बोर्ड लगाइसकिएको छ। यस क्रममा कतै पनि विवाद भएन। प्रदेश कार्यालयमा बुधबार बोर्ड राख्ने क्रममा विवाद हुँदा भने झडपको अवस्था निम्तियो।  

बिहान साढे ११ बजे प्रदेश पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने भन्दै ओली पक्षका कार्यकर्ताले पत्रकारलाई समेत खबर गरेका थिए। तर साढे १० बजे नै नेपाल पक्षका कार्यकर्ता कार्यालय पुगेर नेकपा एमाले लेखेको बोर्ड लगाए। केही समयपछि एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापाको नेतृत्वमा ओली पक्षका नेता तथा कार्यकर्ता प्रदेश कार्यालय पुगेका थिए। प्रहरीले सुरुमा १५ मिनेटजति नेता थापालाई कार्यालयभित्र प्रवेशमा रोक लगाए पनि पछि जान दियो। थापाको नेतृत्वमा रहेका कार्यकर्ताले नेपाल पक्षका कार्यकर्ताले पहिला लगाएको बोर्ड हटाइदिए। उनीहरूले प्रदेश कार्यालयमा राखिएको प्रदेश इन्चार्ज रावल र प्रदेश अध्यक्ष भानुभक्त जोशीको बोर्ड पनि हटाएर इन्चार्ज भट्ट र अध्यक्ष कर्ण थापा लेखेको बोर्ड राखे। विरोधमा नेपाल पक्षका कार्यकर्ताले प्रदेश इन्चार्ज भट्ट लेखेको बोर्ड हटाएपछि झडप भएको हो। बिहानैदेखि सुरक्षाकर्मी कार्यालय गेटबाहिर तैनाथ भए पनि झडप टर्न सकेन।  

झडपका क्रममा कोही घाइते नभए पनि चारवटा कुर्सी भाँचिएका छन। झडपपछि केही बेर दुवै पक्षले नाराबाजी गरिरहे। नेपाल पक्षले रावल जिन्दावाद र अर्को पक्षले ओली जिन्दावाद, भट्ट जिन्दावाद भन्दै नारा लगाए। झडप साम्य भएपछि नेपाल पक्षका कायकर्ता कार्यालयबाट बाहिरिएका थिए। त्यसपछि फेरि नेता थापाले एमालेको बोर्ड लगाए।

पार्टी पहिलेकै अवस्थामा फर्केकाले रावल इन्चार्ज हुनुपर्ने नेपाल पक्षको दाबी छ। एमाले नेता थापाले बोर्ड टाँसेपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज भट्ट नै भएको बताए। पार्टी पुुरानै अवस्थामा फर्के पनि फेरबदल भएका पद कायम रहने उनको भनाइ छ। ‘पार्टीको ३० लाख रकम लगेर आर्थिक अपराध गरेकाले भीम रावललाई कारबाही गरिएको हो, एमाले इन्चार्ज लेखराज भट्ट नै हुन्, यसमा कोही भ्रममा पर्नु जरुरी छैन।’

एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि नेपाली कांग्रेसका शेरबहादुर देउवा, एमालेका रावल र माओवादी केन्द्रका भट्टलाई सुदूरपश्चिम प्रदेशका तीन शीर्ष नेताका रूपमा सबैले हेर्र्थे। एकता भएपछि रावल प्रदेश इन्चार्ज भए। रावल इन्चार्ज भए पनि सुदूरपश्चिम प्रदेशको नेता रावल कि भट्ट भन्ने प्रश्न कार्यकर्ताबीच पेचिलो बनेको थियो। पुष्पकमल दाहालले एउटा कार्यक्रममा सुदूरपश्चिमको नेता रावल हो भनेपछि भट्ट झस्किए। भट्टले पहिलेदेखि नै केही विषयमा असहमति भए पनि दाहालको साथ छोडेका थिएनन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भने भट्ट ओली खेमामा गए। एकीकृत नेकपा ओली र दाहाल–नेपाल पक्षमा विभाजित भएपछि ओली पक्षले रावललाई कारबाही गरेर भट्टलाई प्रदेश इन्चार्ज बनायो। विवाद यहींबाट सुरु भएको हो।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिए पनि भट्टले आफू माओवादी केन्द्रमा फर्कने सम्भावना कम भएको बताएका छन्। यसै कारण सुदूरपश्चिम प्रदेश इन्चार्ज वा नेता रावल हुने कि भट्ट भन्ने प्रशन पेचिलो बनेको छ। एकिकृत नेकपा हुनुअघि सुदूरपश्चिम प्रदेश एमाले संयोजक रावल र थापा सहसंयोजक थिए। भट्ट माओवादी केन्द्रका प्रदेश संयोजक थिए।

प्रकाशित: २७ फाल्गुन २०७७ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App