८ वैशाख २०८१ शनिबार
राजनीति

अविश्वास प्रस्तावको गृहकार्य

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताए। ‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रूपमा चयन गर्नुभएको छ। यसलाई मैले चुनौतीको रूपमा लिएको छु। आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ’, दाहालले बैठकपछि भने। उनले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताए। ‘अहिले हामी छलफलमै छौं। संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ। छलफलमा छौं, एक–दुई दिनमा टुंगो लाग्छ,’ दाहालले भने। अविश्वास प्रस्तावसम्बन्धमा दाहाल–नेपाल समूह कांग्रेसको निर्णय कुरेर बसिरहेको छ।  

शुक्रबारको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ। ‘अहिले एक सय ११ जना सांसदको हस्ताक्षर भएको छ। चारजना अझै आउँदै हुनुहुन्छ’, सांसद यज्ञराज सुनुवारले भने। उनका अनुसार संसदीय दलमा बहुमत पुगेकाले संसदीय दलको नेतामा दाहाललाई चयन गरिएको हो।  

दाहाल–नेपाल समूहले संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने जनाएको छ। तर ओलीले राजीनामा दिने पक्षमा नभएपछि दाहाल–नेपाल समूहले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ। जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले निर्णय गरिसकेको छैन।दाहालले भावी प्रधानमन्त्रीको विषय एक–दुई दिनमा टुंगो लाग्ने बताएका छन्। कांग्रेसले अविश्वास प्रस्ताव नल्याएमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने सम्भावना रहेको बताउन थालिएको छ। यद्यपि यो विषयमा दाहाल–नेपाल समूहले केही बताएको छैन।  

दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव लैजाँदा प्रमुख प्रतिपक्षी दलका नेताको नाम प्रस्ताव गर्न मिल्ने कि नमिल्ने भन्नेबारेमा छलफल भइरहेको स्रोतको दाबी छ।  

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापित नहुँदासम्मको अवधिलाई शून्य समय भनेकाले संसद्मा पुस ५ मा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिएर दाहाल–नेपाल समूह नयाँ प्रस्तावका लागि कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरेर जान लागेको हो। ‘ओलीले गर्न नहुने काम गरेका छन्। संसद् विघटन गर्नेदेखि पार्टी विभाजनको सूत्रधार समेत बनेका कारण उनलाई सरकारमा राख्न नहुने अवस्था आएको छ त्यसकारण कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव लगी प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुको विकल्प छैन’, सो समूह निकटका एक सांसदले भने।  

दाहाल–नेपाल समूहले सांसदलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ। उनीहरूले ओली समूहमा रहेका सांसदलाई पनि आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन्।  

गौतमलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री  

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्। गौतम अस्वस्थ भएका कारण प्रधानमन्त्री भेट्न आएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए। पार्टी विभाजनपछि कतै पनि नलागेका गौतमले पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन्। संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। उनले पार्टी एकीकरणका लागि ओली र पुष्पकमल दाहाल दुवैलाई भेटेर दबाब दिएका थिए।  

प्रधानमन्त्री ओली भैंसेपार्टी जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। गौतमपत्नी तुलसा थापा समानुपातिकतर्फकी सांसद हुन्। उनी अहिले कुनै समुहमा पनि खुलेकी छैनन्। ओली समूहमा आएकी माया ज्ञवाली दाहाल–नेपाल समूहमा गएपछि ओलीलाई अप्ठ्यारो परेको थियो। थापा आए ओलीलाई अली सजिलो हुने बताइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App