४ वैशाख २०८१ मंगलबार
राजनीति

अर्थमन्त्री पौडेलको गाडीमा ढुङ्गा प्रहार, सम्बोधन बीचमै छोडेर हिँडे

स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देहीको मौतिपुर औधोगिक क्षेत्रको शिलान्यास गरेपछि दिनभर मोतिपुर क्षेत्र तनावग्रस्त बन्यो। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगा समेत प्रहार गरे। औधोगिक क्षेत्रको शिलान्यास सकेर अर्थमन्त्रीले कार्यक्रममा सम्बोधन गरीरहँदा स्थानीयले माइकका लागि जोडिएको बिजुलीको लाईन काटिदिएका थिए।  

माइक काटिएपछि पौडेल बीचमै सम्बोधन छोडेर कार्यक्रम स्थलबाट हिँडे। आक्रोसित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि पौडेल समर्थक नेकपाका कार्यकर्ताले पनि स्थानीयलाई लक्षित गरेर ढुंगा हानेका थिए। त्यसपछि प्रहरीले लाठीचार्ज गर्‍यो। झडपमा १०÷१२ जना प्रदर्शनकारी घाइते भएका छन्। शसस्त्र र प्रहरीका केही जवान पनि सामान्य घाइते भएका छन्। कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी तैथान भएपनि स्थानीयलाई रोक्न हम्मेहम्मे परेको थियो। प्रहरीले रोक्दा रोक्दै पनि स्थानीयले पौडेलले शिलान्यास गरेको स्तम्भ तोडफोड गरिदिएका छन्।  

वर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयको जग्गा उनीहरुलाई जानकारी नै नदिइ औधोगिक क्षेत्रको नाममा लालपुर्जा निकालेर योजना अगाडी बढाएपछि स्थानीय त्यसको बिरोधमा थिए। स्थानीयले यसबारे पटक पटक सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएर आफ्ना मागहरु राखेका थिए। बिहीबार पनि पत्रकार सम्मेलन नै गरेर आफूहरुको बैकल्पिक व्यवस्था नगरी आयोजनाको शिलान्यास नगर्न आग्रह गर्दै जबरजस्ती गरे कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए।  

तर स्थानीयको माग सम्बोधन गर्नुको साटो स्वयम् अर्थमन्त्री पौडेलले बिहीबारै तिलोत्तमा आयोजित एक कार्यक्रममा शिलान्यास कार्यक्रम कसैले रोक्न नसक्ने भन्दै भाषण गरे। औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुखले पनि सुरक्षा घेरामा भएपनि शिलान्यास कार्यक्रम गर्ने भन्दै स्थानीयलाई विकास बिरोधीको आरोप लगाए। त्यसपछि आक्रोसित भएका स्थानीयले शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्च स्थानीयले बिहीबार साँझै भत्काइदिएका थिए। त्यसपछि रातारात मञ्च बनाइएको थियो। बिहीबार साँझदेखि नै ठूलो संख्याका सुरक्षाकर्मीले कार्यक्रम स्थललाई सुरक्षा घेरा हालेर राखेका थिए।

पछिल्लो पटक अर्थमन्त्री भएपछि पौडेलले बालुवाटार जग्गा काण्डले धुमिलीएको आफ्नो छवि सुधार्न रुपन्देहीमा भएका नयाँ पुराना सबैखाले विकासे आयोजनाहरुको धमाधम शिलान्यास उद्घाटन गर्दै हिँडेका छन्। वर्षौदेखि अलपत्र परेका र पहिले नै शिलान्यास भइसकेका आयोजनाको समेत पुनः शिलान्यास गर्दै हिँडेका छन्। सोही क्रममा स्थानीयले वर्षौेदेखि उठाउँदै आएका मागलाई व्यवस्था गर्दै जबरजस्ती मौतिपुर औधोििगक क्षेत्र शिलान्यास गरेपछि स्थिती अप्रिय भएको हो।  

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकाका र सुद्धोधन गाउँपालिका क्षेत्रभित्र पर्ने तिनाउ नदी उकास क्षेत्रसहितको करिब १ हजार बिगाहमा मोतिपुर औधोगिक क्षेत्र निर्माणको आयोजना अघि बढेको छ। त्यसका लागि २०७३ सालमा ८१३ बिगाह जग्गा सरकारले अधिग्रहण गरेको थियो। त्यसमध्ये २ सय ५० बिगाह जमिन स्थानीयले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा हो। ३ हजार घर पनि पर्ने दावी स्थानीयको छ। जग्गा अधिग्रहण गर्ने चर्चा चलेपछि स्थानीयले ४ वर्षअघि नै संघर्ष समिति बनाएर आफ्ना माग सम्बोधनका लागि दवाव दिँदै आएका थिए।  

२०७३ सालमै जिल्ला प्रशासन कार्यालयमा भएको सर्बपक्षीय छलफलमा स्थानीयको माग जायज ठहर गर्दै बैकल्पिक व्यवस्था नगरी काम अगाडी नबढाउने सहमति भएको थियो। सोही सहमतिको भर परेर किसानहरुले औधोगिक क्षेत्रको डिपिआर निर्माणमा सरकारलाई सघाए। तर चार वर्ष बित्दा पनि स्थानीयको माग सम्बोधन गरीएन। बरु पचास वर्षदेखि बसोबास गर्दै आएका स्थानीयलाई थाहै नदिइ औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गाको लालपुर्जा निकालियो। पछिल्लो समय एआइए गर्दा  पनि स्थानीयलाई थाहा दिइएन। स्थानीयले आफूहरुले पचास वर्षदेखि बस्दै आएको घर र जोभभोग गरेको खेत छोडेर बाँकी जग्गामा औधोगिक क्षेत्र निर्माण गर्न या त आफ्नो घरखेत लिने हो भने बैकल्पिक व्यवस्था गरीनु पर्ने माग राख्दै आएका छन्।

सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले पनि स्थानीयलाई बैकल्पिक व्यवस्था नगरी आयोजना अगाडी बढाउन नहुने बताएका छन्। त्यही जमिनमा दुई तीन पुस्ता बिताएका स्थानीयलाई  थाहै नदिइ उनीहरुको जग्गाको लालपुर्जा औधोगिक क्षेत्रको नाममा निकालेर सरकारले जनतामाथि घोर अन्याय गरेको सुद्धोधन गाउँपालिका ३ का वडाध्यक्ष शिव खड्काले बताए। ‘गरिब किसानका माग सम्बोधन गर्ने सरकारले हो त्यसबाट पछि हट्न मिल्दैन’ वडाध्यक्ष खड्काले भने।

प्रकाशित: २१ फाल्गुन २०७७ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App