७ वैशाख २०८१ शुक्रबार
राजनीति

उच्च तहको सम्पत्ति छानबिन भइरहेको बेला नेतृत्व फेरियो

ठूलो संख्यामा उच्च तहका व्यक्तिको सम्पत्ति शुद्धीकरणको छानबिन भइरहेका बेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व फेरेको छ।

सरकारले विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई सरुवा गरी गजेन्द्र ठाकुरलाई नियुक्ति गरेको हो। ठाकुरले बिहीबारदेखि कार्यभार सम्हाल्ने भएका छन्। विभागका प्रवक्ता शुशील आचार्यका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र विभागले १ हजार ३ सय भन्दा बढी सम्पत्ति शुद्धीकरणको उजुरीमा छानबिन गरिरहेको छ। त्यसमध्ये २ सय उजुरीमध्ये अनुसन्धान भइरहेको छ। विभागले आव २०७७/७८ मा मात्र १० वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। विभागका अनुसार एक वर्षमा ठूलो संख्यामा सम्पत्ति शुद्धीकरकणबारे छानबिन भइरहेको यो पहिलोपटक भएको विभागका एक उपसचिवले बताए।  

विभागले अनुसन्धान गरिरहेको मुद्दामध्ये धेरैजसो मुद्दा उच्च तहका व्यक्तिहरू सम्मलित रहेको विभाग स्रोतले बताएको छ। स्रोतका अनुसार राजनीतिक क्षेत्रका केही महत्वपूर्ण व्यक्तिहरूको सम्पत्ति माथि पनि छानविन भइरहेको छ। सम्पत्ति छानविन तीव्र भइरहेको बेला सरकारले विभागको नेतृत्व फेरेको हो। सरकारले भट्टराइलाई राष्ट्रपति कार्यालयमा लगेको छ।

राष्ट्रपति कार्यालय तथा उपराष्ट्रपति कार्यालयमा उच्च तहका कर्मचारीहरू सकेसम्म जान चाहन्नन्। त्यहाँ पठाइएमा आफूलाई थन्काइएको भनेर उनीहरू बुझ्ने गर्छन। सम्पत्ति सुद्धिकरणमा जानुअघि भट्टराई संघीय मामिला मन्त्रालयमा कार्यरत थिए। उनलाई एक हप्ताको अवधिमा ३ ठाउँ सरुवा गरिएको थियो। भट्टराईको ठाउँमा ल्याइएका ठाकुर यसअघि राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशक थिए।  

केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग तथा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएको अर्को महत्वपूर्ण विभाग राजस्व अनुसन्धान विभागमा पनि सरकारले नेतृत्व फेरेको छ। सरकारले राजस्वका महानिर्देशक दीर्घ मैनालीलाई अर्थ मन्त्रालयमा तानेको छ। उनको सरुवा करिब ३३ महिनापछि भएको हो। मैनालीको ठाउँमा सरकारले रामप्रसाद आचार्यलाई ल्याएको छ। आचार्य यसअघि काठमाडांैका जिल्लाका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालय, तथा प्रधानमन्त्री कार्यालयमा काम गरिसकेको छन्।  

सरकारले वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुबवदीलाई पनि सरुवा गरेको छ। उनलाई सरकारले संघीय मामिला ततथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ। सुवेदीले केही दिनदेखि सिंहदरबार तथा सिंहदरवार बहिर रहेका क्यान्टिन, चमेना गृह, भोजनालय तथा मिठाइ पसलमा अनुगमनको काम सुरु गरेका थिए। उनको ठाउँमा सरकारले प्रकाश पौडेललाई ल्याएको छ। पौडेलले नयाँ कार्यालयमा हाजिर गर्न समेत सुरु गरेको विभागले जनाएको छ। 

पौडेल यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। अघिल्लो हप्ता सरकारले एकैपटक ३१ जना सहसचिवलाई सरुवा गरेको छ। सरुवापछि ५ वटा महत्वपूर्ण विभागमा नेतृत्व रिक्त रहेको थियो। तीमध्ये ३ वटा विभागमा सरकारले नयाँ नियुक्त गरेको हो। वर्तमान सरकारले उच्च तहका कर्मचारीहरू चाँडो चाँडो सरुवा गर्ने गरेको छ।यसबाट प्रशासन क्षेत्रमा अस्थिरता निम्तिने प्रशासनविद्हरू बताउँछन्।

प्रकाशित: २० फाल्गुन २०७७ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App