८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डको प्रश्नः राजीनामा नदिएर अझै देखाइदिन्छु पो भन्दै हुनुहुन्छ त, के देखाउन बाँकी छ ?

फाइल तस्बिरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको निर्णय सर्वोच्चबाट खारेज भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंको बबरमहलमा आयोजित पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभामा प्रचण्डले पूरै देशले राजीनामा मागिरहेको तर ओली ‘अझै देखाइदिन्छु’ भन्दै हिँडेको बताए।

‘आफ्नो प्रस्ताव खारेज भइसकेपछि राजीनामा दिनुपर्नेमा आजभोलि अचम्म लाग्छ। केपी ओलीका कुरा सुन्छु म, उहाँले त झन् जितेजस्तो पो गर्नुभएको छ। सर्वोच्चले उहाँलाई हराइदिएको त, हामी झन् बलियो भयौं रे! के अचम्म हो यो हारेपछि बलियो हुने। यो कस्तो सिद्धान्त प्रतिपादन गर्‍या होला केपीजीले,’ प्रचण्डले भने, ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर पूरै देशले भनिरहेको छ। तर, राजीनामा दिनु त कता हो कता, म अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ उहाँले। अब देखाउन के बाँकी छ। उहाँले संकटकाल लगाएर देखाउने भन्या हो कि। किनभने उहाँ त पार्टी सदस्य पनि हुनुहुन्न।’

उनले अहिलेको समस्या आउनुमा प्रधानमन्त्री ओली मुख्य जिम्मेवार रहेको उनको दाबी छ। ओलीले आफूसँग विभिन्न सम्झौता गरेर कार्यान्वयन नगरेको हुनाले अहिलेको समस्या निम्तिएको उनको तर्क छ। ‘केपी ओलीजीको सबैभन्दा ठूलो समस्या गएको तीन वर्षमा मैले के देखेँ भने कुर्सी प्राप्तिको निम्ति जे पनि सम्झौता गरिदिने, प्राप्त भइसकेपछि कार्यान्वयन एउटा पनि नगर्ने उल्टो कार्यान्वयन गर्ने षड्यन्त्रकारी चरित्र नै समस्याको चुरो हुन आयो,’ उनले भने, ‘उहाँले सबै सहमति गर्नुभयो, आलोपाले अध्यक्षमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ, आलोपालो प्रधानमन्त्रीमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ। अनि, जबज छोडेर हस्ताक्षर गर्ने पहिलो व्यक्ति केपी ओली नै हो। एमाले विघटन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने पहिलो व्यक्ति पनि केपी ओली नै हो। अनि प्रधानमन्त्री भइसकेपछि पछाडि फर्किने पनि केपी ओलीजी नै हो।’

निर्वाचन आयोगले अबको केहीदिनभित्र पार्टीको आधिकारिता आफूलाई दिने प्रचण्डको दाबी छ। अदालतसँगको सेटिङको कुरा भत्किसकेको उल्लेख गर्दै उनले अब ‘निर्वाचान आयोगवाला सेटिङ’ पनि भत्किने दाबी गरे। ‘मैलै बुझेर भनेको हुँ, अबको केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी ओली) लाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव हुन्न, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँकै हो भन्ने फैसला हुन्छ,’ उनले भने।

प्रकाशित: १७ फाल्गुन २०७७ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App