७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री ओलीको पोखरा रंगशाला अवलोकन तालिका तय भएपछि त्यसको तयारीबारे बुझ्न पुगेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव रमेशकुमार सिलवाललगायत। तस्बिर: सन्देश/नागरिक

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

ओली सोमबार पूर्वाह्न ११ः४० बजेको बुद्ध एयरबाट पोखरा आउने नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए। पोखरा आएलगत्तै उनी गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा सहभागी हुने उनले बताए।

भवन शिलान्यास कार्यक्रमपश्चात प्रधानमन्त्री ओली दिउँसो करिब १ बजे कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले प्रशिक्षण मन्तव्य राख्ने तय भएको नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए। नेकपा ओली समूहले यसअघी फागुन १५ गतेका लागि तय भएको आमसभा रोकेर मंगलबार प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य, भ्रातृ संगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू, पालिकाका प्रमुख, उपप्रमुख, पार्टीको महानगर, नगर तथा गाउँ कमिटीका पदाधिकारी सहभागी हुने जनाइएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउन लागेका नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यहि मौका पारेर पोखरा रंगशालाको अवलोकन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले सोमबार दिउँसो पोखरा रंगशालाको अवलोकन गर्ने कार्यतालिका तय भएको राखेप सदस्य तथा प्रधानमन्त्री ओलीनिकट राजेशकुमार गुरुङले बताए। 

उनका अनुसार प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मन्तव्य राखेर सिधै रंगशाला पुग्नेछन्। त्यहाँ उनले भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हलहुँदै फुटबल स्टेडियम, फुटबल टेक्निकल सेन्टर, क्रिकेट मैदान, स्विमिङ पुल निर्माण स्थल, लन टेनिस, स्क्वास, आर्चरीलगायतका खेल मैदानको अवलोकन गर्नेछन्। लगत्तै उनी पोखरा एयरपोर्ट पुगेर काठमाडौं फर्किने कार्यतालिका रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने तालिका तय भएपछि रंगशाला प्रवेशद्वार र फुटबल स्टेडियम प्रवेशद्वारमा प्रधानमन्त्री ओलीले फुटबल हान्दै गरेको तस्बिर अंकित फ्लेक्स राखेर स्वागतद्वार सजाइएको छ। उसो त तयारीका लागि राखेप सदस्य सचिव रमेशकुमार विष्टसहित राखेप सदस्यहरू राजेशकुमार गुरुङ, सुवर्ण श्रेष्ठलगायत खटिएका छन्।

यसैबीच, सोमबार प्रधानमन्त्रीले रंगशालाको अवलोकन गर्न लागेपछि त्यसको तयारीबारे मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेसमेत रंगशाला पुगेर जानकारी लिएका छन्। तयारीबारे बुझ्न मुख्यमन्त्री गुरुङ आईतबार अपराह्न रंगशाला पुगेका थिए। राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालामा निर्माण भएको पूर्वाधार देखाउँदै बाँकी पूर्वाधार निर्माण गर्नका लागि आवश्यक बजेट थप गर्न प्रधानमन्त्री ओलीलाई पोखरा रंगशालाको अवलोकन गराउन लागिएको बताए। 

हाम्रो उद्धेश्य भनेको हामीले पोखरा रंगशालामा बनाएको पूर्वाधार देखाउनु हो, उनले भने, ‘त्यसपछि निर्माणाधीन पूर्वाधार र निर्माण गर्न बाँकी पूर्वाधार देखाएर ती पूर्वाधार पूरा गर्न बजेट आवश्यक पर्‍यो प्रधानमन्त्री ज्यू भन्नूपनि हो।’ नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट निकासामा सहज हुने अपेक्षाका साथ प्रधानमन्त्रीलाई रंगशाला अवलोकन गराउन लागिएको उनले बताए। राखेप सदस्य राजेशकुमार गुरुङले खास गरेर पोखरा रंगशालामा फ्लड लाइट हाल्ने तथा स्विमिङ पुल र सुटिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट चाहियो भनेर आग्रह गर्ने तयारी रहेको बताए।

प्रकाशित: १७ फाल्गुन २०७७ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App