coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केपी ओलीसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताएका छन्। ललितपुरको जावलाखेलमा शनिबार आयोजित प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा नेपालले फेरि ओलीसँग सहकार्यको सम्भावना नरहेको बरु संसद् विघटनविरुद्ध आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाउने बताए।

‘केपी ओलीसँग एकताको कुनै सम्भावना छैन, भ्रममा नपर्नुहोला। केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन, बाम लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन्। त्यसकारण तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुहोला,’ उनले भने,‘हामी आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाऔं भनिरहेका छौं।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि एउटा लडाईं जितेको भएपनि सिङ्गो लडाईं भने जित्न बाँकी रहेको उनको भनाई छ। उनले प्रधानमन्त्री ओलीलाई नहटाएसम्म लडाईं जारी राखिने बताए।

सम्बोधनका क्रममा उनले ओलीलाई पूर्व एमालेको कुनै माया नभएको समेत बताएका थिए। ‘केपी ओलीलाई एमालेको कुनै माया छैन, उनलाई कम्युनिस्ट पार्टीको पनि कुनै माया छैन,’ उनले भने,‘केपी ओली मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन्।’

उनले प्रधानमन्त्री ओलीलाई कुनै हालतमा सुधार्न नसकिने समेत दाबी गरे। ‘बामदेव गौतमजी अहिले पनि ओलीलाई सुधार्ने कोसिस गर्दै हुनुहुन्छ। तर, मैले उहाँ (गौतम)लाई बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस् भनेको छु।’

प्रकाशित: १५ फाल्गुन २०७७ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App