७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल–नेपालसँग जसपाको सर्त

जनता समाजवादी पार्टीले कानुनी रूपमा एक तर व्यवहारमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहलाई सत्ता समीकरणबारे छलफल गर्नुअघि पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेको छ।  

दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नयाँ सत्ता समीकरणमा सहकार्य गर्न प्रस्ताव गरेपछि जसपाका नेताहरूले पहिला पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेका हुन्। उनीहरूबीच बिहीबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा कुराकानी भएको हो। यसअघि बुधबार दाहाल र नेपालले नयाँ सत्ता समीकरणमा सहकार्य गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए।  

स्रोतका अनुसार दाहाल र नेपालले नयाँ सत्ता समीकरणमा सहकार्यको प्रस्ताव गरेपछि जसपाका नेताहरूले सुरुमै प्रश्न गरेका थिए, ‘अहिलेसम्म तपाईंहरू एउटै पार्टी (नेकपा) मा हुनुहन्छ। पहिले तपाईंहरूले आफ्नो पार्टी कुन हो प्रस्ट पार्नुहोस्।’ वार्तामा सहभागी जसपा नेता राजेन्द्र महतोको अनुसार दाहाल र नेपालले नयाँ बन्ने सत्ता समीकरणमा आफूहरूलाई समर्थन गर्न प्रस्ताव गरेका थिए। ‘प्रतिगमन भयो भन्नेहरू र अग्रगमनकारी भन्नेहरू अहिले पनि एउटै पार्टीमा हुनुहुन्छ।  

पहिले तपाईंहरूले आफ्नो पार्टीको कित्ता प्रस्ट पार्नुहोस् भनेर हामीले भन्यौं’, महतोले भने, ‘कित्ता प्रस्ट नभईकन नयाँ बन्ने समीकरणबारे कसरी छलफल गरौं भन्ने हाम्रो भनाइ रह्यो।’ वार्तामा जसपाबाट महतो, महन्थ ठाकुर र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

वार्तामा जसपाका नेताहरूले आफूहरूले उठाउँदै आएका अजेन्डा पनि स्मरण गराएका थिए। सांसद रेशम चौधरीलाई जेलबाट छाड्ने वातावरण बनाउनुपर्ने, संविधान सशोधन हुनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, घाइतेको उपचार खर्च राज्यले बेहोर्नुपर्नेलगायत माग जसपाका नेताहरूले राखेका थिए। ‘हामीले उठाउँदै आएका अजेन्डालाई सम्बोधन गर्नुभयो भने नयाँ बन्ने सरकारलाई समर्थन गर्छौं भनेर प्रस्ट भन्यौं’, महतोले भने, ‘त्यस बेला हामीले सरकारमा बसेर पनि समर्थन गर्न सक्छौं। सरकारबाहिर बसेर पनि समर्थन गर्न सक्छौ। तर पहिला उहाँहरूको पार्टीको कित्ता प्रस्ट हुनुपर्छ।’  

वार्ता कुनै टुंगोमा नपुगे पनि सकारात्मक भएको जसपाका नेता डा. सुरेन्द्र झाले बताए।  

‘आज (बिहीबार) को कुराकानी सकारात्मक छ। थप कुराकानी गर्दै जाने सहमति भएको छ’, उनले भने, ‘वार्तामा हामीले अहिले पनि तपाईंहरूको एउटै पार्टी छ, एउटै संसदीय दल छ। त्यसैले पहिले कित्ता प्रस्ट पार्नुहोस् भन्यौं।’

स्रोतका अनुसार दाहाल–नेपाल खेमा र जसपा नेताबीचको वार्तामा वर्तमान सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा पनि छलफल भएको थियो। जसपाका नेताहरूले भनेका थिए, ‘पहिले तपाईंहरूले अविश्वास प्रस्ताव दर्ता गर्नुहोस्। त्यसपछि छलफल गरौंला।’

प्रतिनिधिसभा पुनस्र्थापना गर्न सर्वोच्च अदालतबाट भएको फैसलाको जसपाका नेताहरूले स्वागत गरेका छन्। नयाँ परिस्थितिबाट जसपाका नेताहरू उत्साहित छन्। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। पार्टी स्रोतका अनुसार जसपाले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जाने लाइन बनाएको छ। पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन्।

प्रकाशित: १४ फाल्गुन २०७७ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App