७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्तः नेता रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटनपछि डिरेल भएको संविधानलाई पुनःस्थापनामार्फत सही बाटोमा ल्याएर निर्वाचनमा जानुपर्ने बताएका छन् । नेता रिजालले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संसद् पुनःस्थापना गरेर संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् ।  

पार्टीका आम नेता तथा कार्यकर्ता मात्र नभएर देश नै निर्वाचनमा गइसकेको धारणा राख्दै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरे पनि त्यसले दुई वर्ष थेग्न नसक्ने रिजालको बुझाइ छ । ‘देश चुनावमा गइसक्यो तर संविधानलाई ट्र्याकमा नल्याई चुनावमा जाँदा अप्ठ्यारो आउँछ,’ रिजालले भने, ‘संसद् पुनःस्थापना गरेर छ महिनाभित्र निर्वाचनमा जानु उपयुक्त हुन्छ ।’  

पुनःस्थापना गरेर निर्वाचनमा जाँदा पार्टीका दुवै नेताहरूले भनेको कुरा पनि पुग्ने तर्क गर्दै रिजालले भने, ‘शेरबहादुर दाइले निर्वाचन भन्नुभएको छ । रामचन्द्र दाइले संसद पुनःस्थापना भन्नुभएको छ । पुनःस्थापना गरेर संविधानलाई मूलधारमा ल्याएर निर्वाचनमा जाँदा दुवै नेताको अजेन्डा सफल हुन्छ ।’

प्रतिनिधिसभा विघटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण भएको बताउँदै रिजालले कांग्रेसभित्र विवाद यस विषयमा अलमल गर्नु र विवाद गर्नुको औचित्य नभएको तर्क गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद पुनस्र्थापना गरे आन्दोलन गर्छु भन्नु अधिनायकवादी विचार भएको टिप्पणी गर्दै रिजालले कम्युनिस्टलाई लिएर विगतमा पटकपटक कांग्रेसले आन्दोलन गरेपनि त्यसपछि उनीहरूको कारण राजनीति प्रदुषित भएको बताए ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App