७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश प्रमुख–प्रदेश सरकारबीच सम्बन्धमा सकस

कात्तिक १८ गते प्रदेश २ प्रमुख नियुक्त भई कात्तिक २० गते पदभार ग्रहण गर्न जनकपुरधाम आइपुग्दा तिलक परियारलाई प्रदेश सरकारबाट भव्य स्वागत गरिएको थियो। मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूले विमानस्थलमै पुगेर परियारलाई फूलमालाले स्वागत गरेका थिए।

फागुन ७ गते सरकारले परियारलाई पदमुक्त गरी राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गर्‍यो। तर आइतबार पदभार ग्रहण गर्न आएका उनलाई प्रदेश सरकारबाट परियारलाई जस्तो स्वागत भएन। प्रदेश सरकारले झाको स्वागतका लागि मन्त्रीलाई समेत नपठाएर राज्यमन्त्रीलाई पठाएको थियो। झाको स्वागतका लागि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा विमानस्थल पुगेका थिए।

प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मुख्यमन्त्रीदेखि मन्त्रीसम्म बाहिर रहेकाले स्वागतका लागि राज्यमन्त्रीलाई पठाउनुपरेको बताए। ‘उहाँ (प्रदेश प्रमुख) को आगमन हुने दिन मुख्यमन्त्रीदेखि हामी सबै मन्त्री जनकपुरधामबाहिर थियौं’, उनले भने, ‘त्यसकारण उहाँको स्वागतका लागि राज्यमन्त्रीलाई पठाएका हौं।’ मिथिलाको संस्कार ‘अतिथि देवो भवः’ भएको र प्रदेश प्रमुख अतिथि भएकाले स्वागत गर्नु कर्तव्य भएको तर सो दिन परिस्थितिले पुग्न नभ्याएको उनले बताए।

प्रदेश प्रमुख झाप्रति सम्मान भाव रहे पनि विगतलाई हेरेर सशंकित हुनुपर्ने स्थिति भने रहेको मन्त्री यादवले बताए।  

‘उहाँको इतिहास संघीयता र संघीयताको जननी मधेसप्रति सकारात्मक छैन,’ मन्त्री यादवले भने, ‘उहाँको विगत संघीयता र मधेसविरोधी देखिएको छ। त्यसकारण प्रदेश सरकार सशंकित छ।’ आफूहरू ‘पर्ख र हेर’ स्थितिमा उभिएको उल्लेख गर्दै उनले भने, ‘उहाँको कार्यशैली हेर्न बाँकी छ। उहाँको कार्यशैली संघीयता र मधेसको पक्षमा देखिए हामीबाट भरपुर सहयोग तथा समन्वय हुन्छ।’

बल प्रदेश प्रमुखकै कोर्टमा भए पनि संघीयता र मधेसको विरोधमा उत्रने जोकोहीको प्रतिरोध गर्ने मन्त्री यादवले बताए। ‘प्रदेश प्रमुख सेरेमोनियल पद हो, कार्यकारी होइन,’ उनले भने, ‘सरकार आफ्नो रफ्तारमा चल्छ, उहाँ आफ्नो काम गर्नुहुन्छ।’ प्रदेश प्रमुखबाट कस्तो अपेक्षा राखिएको छ भन्ने जिज्ञासामा मन्त्री यादवले भने, ‘संघीयताको जननी मधेस र मधेसको मतमा अडिएको सरकारसँग समन्वय गरेर उहाँले अघि बढ्नुपर्छ। हामीले संघीयतालाई प्रवद्र्धन गर्दै आएका छौं। उहाँले त्यसमा सहयोग गर्नुपर्छ।’

प्रदेश प्रमुखले आफ्नो प्रेस नोटमा ‘शिरमा देश र मनमा मधेस’ राखेर अघि बढ्ने भन्दै जनाएको प्रतिबद्धतालाई कसरी लिइएको छ भन्ने प्रश्नको जबाफमा मन्त्री यादवले त्यसप्रति ढुक्क हुने अवस्था आइनसकेको बताए। ‘उहाँको कार्यशैली हेर्दैछौं,’ उनले भने। मन्त्री यादवले चुनाव घोषणा गरिसकेको अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकारबाट प्रदेश प्रमुखको पदमुक्ति र नियुक्ति अवैधानिक भएको जिकिर गरे।

मन्त्री यादवले ‘अतिथि’ भने पनि प्रदेश प्रमुख झाले भने ‘घर आएको’ प्रतिक्रिया दिएका छन्। उनले पदभार सम्हालेसँगै जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘प्रदेश २ मा सुशासन, समभाव, सद्भाव, समृद्धि कायम गर्न/गराउन मेरो पूर्ण सहकार्य रहनेछ।’ युवामुक्त समाज, बालीमुक्त कृषि, भयमुक्त भविष्य, सम्मानमुक्त जीवनले दीर्घकालीन पीडा दिने उल्लेख गर्दै उनले भनेका छन्, ‘समभावमा आधारित समाज, देशप्रेमसहितको सोच, गौरवान्वित भविष्यसहितको प्रदेश निर्माणमा मेरो भूमिका रहनेछ।’

उनले सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकता कायम राख्न सक्नुपर्ने, प्रदेशभित्रका प्रत्येक नागरिकलाई पूर्ण सुरक्षाको अनुभूति हुनुपर्ने बताएका थिए। प्रदेशवासी नागरिकको भूमि, भावना र भविष्यको सुनिश्चितता गर्न सबैले मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो।

प्रदेश सरकारले विमानस्थलमा पहिलाका प्रदेश प्रमुखलाई जस्तो स्वागत नगरे पनि मुख्यमन्त्री लालबाबु राउत सोमबार बिहान मधेस भवन पुगे। त्यहाँ उनले प्रदेश प्रमुखलाई कार्यकक्षमै भेटेर पुष्पगुच्छाले स्वागत गरे। तर मुख्यमन्त्रीको सञ्चार सचिवालयले भने त्यसलाई स्वागत नभनेर भेटघाटमात्र भनेको छ। यसबाट प्रदेश सरकार र प्रदेश प्रमुखबीच सम्बन्धमा सकस रहेको जनकपुरधामका बुद्धिजीवी बताउँछन्। प्रदेश प्रमुख र सरकार प्रमुखबीच अमिलोपन नभई मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App