८ वैशाख २०८१ शनिबार
राजनीति

संसद् पुनर्स्थापना भए तमासा सुरु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सोमबार भने, ‘विघटित संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुनेछ। प्रधानमन्त्री खोज्न, पार्टी खोज्न हिँड्नुपर्नेछ। सांसद किनबेच, भागबन्डा, विभिन्न समीकरणको खेल चल्नेछ।’ संसद पुनर्स्थापनाका लागि अदालतमा परेको रिटबारे टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अदालतले जस्तो फैसला गरे पनि हामीलाई कुनै छटपटी हुँदैन। हाम्रो ध्यान देश बनाउने अभियानमा भएकाले जे भए पनि फरक पर्दैन।’

देश निर्वाचनतर्फ गइसकेको बताउँदैै प्रधानमन्त्री ओलीले थपे, ‘अबको दुईतीन दिनमै अदालतमा चलिरहेको संसद् विघटनसम्बन्धी मुद्दाको फैसला हुनेछ।’ उनले अदालतलाई धम्की दिने बानी आफूहरूको नभएको बताए। ‘हामी लोकतन्त्रमा विश्वास गर्ने हुँदा न्यायालयलाई धम्की दिँदैनौं,’ उनले भने, ‘फैसला जे आए पनि हामी देश बनाउने अभियानमा छौं, नतिजा जे आए पनि हाम्रो राजनीति सकिँदैन।’

आन्दोलन गर्ने आफ्नो भनाइलाई केहीले दुष्प्रचार गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलन भनेको नाराजुलुस, ढुंगामुडा गर्ने भनेको होइन, देश निर्माणको आन्दोलन अर्थात् अभियान भनेको हो।’ समग्र राष्ट्रिय परिवर्तनका लागि आन्दोलन भनिएको उनले प्रस्ट पारे। अहिलेको सरकारले विकासको गति बढाउँदै लगेको बताउँदै उनले भने, ‘हामी विकासको गतिलाई अगाडि बढाइरहेका छौं, अब विकासलाई कसैले रोक्न सक्दैन।’ आफूहरूको काम विध्वंश गर्ने नभई विकास निर्माण गर्ने रहेको बताउँदै उनले भने, ‘अब महाकालीदेखि मेचीसम्म रेल कुद्छ, त्यसका लागि काम भइरहेको छ।’ उनले आफू कर्मी माहुरी र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल डायना मौरी भएको समेत भन्न भ्याए। ओलीले थपे, ‘कर्मी मौरीले मह खोजेर ल्याउँछ तर डायना मौरी बसीबसी खान्छ।’ दुई वर्षको अवधिमै देशमा विकास निर्माणले कोल्टे फेरेको बताउँदै उनले भने, ‘अहिले बिजुली नबलेको गाउँ नै छैन। बिजुली पुग्न नसक्ने दुर्गम गाउँमा हावाबाट बिजुली, सौर्य विद्युत्बाट पनि जनतालाई उज्यालो दिएका छौं।’

दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटनका क्रममा उनले भने, ‘यो औद्योगिक क्षेत्रले अब सुदूरपश्चिमको मुहार परिवर्तन हुनेछ।’ उद्योगले श्रीवृद्धि हुने, रोजगारका अवसर सिर्जना हुने, प्रविधि भित्रने र आर्थिक विकास हुने उनले बताए। ‘अब यहाँ ठूला, मझौला र साना उद्योग खुल्नेछन्, जसले आर्थिक विकास हुनेछ,’ उनले भने, ‘यसका साथै बाहिरबाट दक्ष जनशक्ति आउनेछन् र उनीहरूले यहाँका स्थानीयलाई दक्ष बनाउनेछन्, जसले रोजगारी सिर्जना हुनेछ।’ दैजी छेलामा उद्योगलाई चाहिने आवश्यक जमिन छुट्याइएको बताउँदै उनले थपे, ‘साना–मझौला र ठूला उद्योगका लागि चाहिनेजति जमिन छुट्याएका छौं।’ यहाँ स्थापना हुने उद्योगलाई पाँच वर्षसम्म कुनै कर नलाग्ने समेत उनले बताए। ‘यहाँ स्थापना हुने कुनै उद्योग कलकारखानालाई पाँच वर्षसम्म कुनै पनि कर लाग्ने छैन,’ उनले भने, ‘यस्तै उद्योगलाई चाहिने विद्युत् र पानीमा आधारभूत कर छुटको व्यवस्था गरेका छौँ।’

प्रधानमन्त्री ओलीले महाकाली सन्धिको स्मरण गर्दै भने, ‘महाकाली सन्धिमा नदी बेचेको होइन, सदुपयोग गरेको हो।’ महाकालीको पानी लिएर भारतले सिँचाइ गरिरहेको तर नेपालमा सुख्खा रहेकाले अब चाँडै कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइ पुग्ने उनले बताए। ‘महाकालीको पानीका लागि भारतसँग सहमति भएको छ,’ उनले भने, ‘अब सुख्खा भूमि सिंचित हुनेछ।’ यो सरकारले नेपालको गुमेको भूमि समेत आफ्नो नक्सामा समेटेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले गुमेको भूमिलाई नक्सामा समेटेर संविधानमा राखेका छौं। छिमेकीसँग कुरा गरिरहेका छौं, हाम्रो भूमि संविधानमा अंकित भएको छ।’ पश्चिम सेतीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्ने बताउँदै उनले थपे, ‘अब हामी पञ्चेश्वर र पश्चिम सेतीले सुदूरपश्चिमलाई झिलिमिली पार्नेछौँ।’

कञ्चनपुरको दैजी छेलालाई २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन। औद्योगिक क्षेत्र प्रस्तावित गरिएको २५ वर्षपछि सोमबार प्रधानमन्त्री ओलीले सिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रमा निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। ९ अर्बको लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो। विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र इआइए प्रतिवेदन स्वीकृतिको काम सम्पन्नपश्चात् निर्माणका लागि बाटो खुलेको छ। 

औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना निर्माण हुने बताइएको छ। औद्योगिक क्षेत्रको डिपिआरअनुसार १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन्, जसमा २२ हजार बढीले रोजगार पाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App