८ वैशाख २०८१ शनिबार
राजनीति

खानेपानी अभाव भएको भन्दै नारावाजी, नगरसभा सुरु हुन सकेन

खानेपानीको चरम अभाव हुँदा पनि जनप्रतिनिधिले वेवास्ता गरेको भन्दै विभिन्न वडाका बासिन्दाहरुले धरान उपमहानगरपालिकाको नगर सभास्थल घेराउ गरेका छन्।

नगरबासीहरुले घेराउ गरेपछि नगर सभा प्रभावित भएको छ। दिउँसो १ बजे शुरु हुने भनिएको आठौं नगर सभा शुरु हुन सकेको छैन। विभिन्न वडाका जनप्रतिनिधिहरुले पानीको माग गर्दै आन्दोलित वडाबासीहरुलाई समर्थन गरेका छन्। खानेपानी संस्थानलाई जिम्मा लिएर धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत पानी वितरण गर्ने यसअघि कै नगरसभाले निर्णय गरेपनि अहिलेसम्म मेयर तिलक राईले जिम्मा लिन नमानेको कारण पानी अभाव भएको उनीहरुको आरोप छ। वडाअध्यक्षहरुले कार्यपालिका बैठकमा पनि संस्थानलाई जिम्मा लिएर बोर्डमार्फत पानी वितरण गर्नुपर्ने भन्दै आवाज उठाइरहेका छन्।

वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुले नगर सभाले संस्थान जिम्मा लिएर बोर्डमार्फत पानी वितरण गर्ने निर्णय गरिसके पनि मेयरले आनाकानी गरिरहेको आरोप लगाए। धारामा पानी नआउदा वडाका जनप्रतिनिधिहरुले वडाबासीहरुबाट गाली सुन्नु परिरहेको कारण आज नगर सभामै घेराउ गर्न ल्याएको बताए। ‘मेयर साबले विभिन्न वहाना बनाएर संस्थान जिम्मा लिन मान्नुभएको छैन, जनता पानी नपाएर हामीलाई कराएको करायै गर्नुहुन्छ। त्यसैले आज नगर सभा छ, त्यही जाउ भनेर लिएर आएका छौं,’उनले भने।

आक्रोशित नगरबासीहरुले नगर सभा प्रवेशस्थलमा घेराउ गरेर बसेका छन्। उनीहरुले मेयर राईलाई सभा हलभित्र प्रवेश गर्न नदिने बताइरहेका छन्। वडा नं १०, ३, ९, १९ लगायतका वडाहरुबाट नगरबासीहरु घेराउ गर्न आएका छन्। वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले नगरबासीहरुसँग सहमति गरेर मात्रै नगरसभा शुरु हुने बताए। आज बिहान सभा सञ्चालन समन्वय समिति बैठकमा सभाको उद्घाटन मात्र गर्ने र २० गतेभित्र खानेपानी समस्या समाधान गरिसकेर २१ गतेदेखि सभाको बैठ राख्ने सहमति भएको उनले जानकारी दिए। तर, उक्त सहमतिमा उपप्रमुखले भने सहमति नजाएको पनि खतिवडाले जानकारी दिए।

 

प्रकाशित: १० फाल्गुन २०७७ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App