१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्रीबाट उपराष्ट्रपतिको अपमान

फाइल तस्वीर

उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्।

फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो। कुाराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए। उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।  

ओलीले पुनसँग प्रतिवाद गर्न खोजेको हो त भनेर प्रश्न गरेका थिए। त्यसपछि उपराष्ट्रपति पुनले तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने भनेपछि ओली आफ्नो आसनतिर गएका थिए। उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसुस गरेका थिए।

उपराष्ट्रपति पुनले पत्रकार महासंघको कार्यक्रममा देश अहिले राजनीतिक संकटको भुमरीमा रहेको बताएका थिए। ‘प्रतिनिधिसभा विघटन गरिएको छ। यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन्। नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरूले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भन्नुभएको छ। पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरू, नागरिक समाज, प्रायः राजनीतिक पार्टी, संघसंस्थाका साथै अधिकांश तपाईं पत्रकार मित्रहरूले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ’, उपराष्ट्रपति पुनले महासंघको कार्यक्रममा भनेका थिए।

उपराष्ट्रपति पुनको यही भनाइलाई लिएर प्रधानमन्त्री ओलीले विराटनगरमा भएको आमसभामा पनि असन्तुष्टि प्रकट गरेका थिए। सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन र सभामुख सापकोटाको चर्काे आलोचना गरेका थिए। उपराष्ट्रपति र सभामुखलाई उनले सरकारविरुद्ध झगडियाको संज्ञा दिँदै आलोचना गरेका थिए।

मर्यादाक्रममा पनि प्रधानमन्त्रीभन्दा उपराष्ट्रपति माथि हुन्छन्। उनलाई ओलीले सम्मान गर्नुपर्ने ठाउँमा प्रजातन्त्र दिवसका अवसरमा अपमान मात्रै गरेनन्, शनिबार विराटनगरमा आफ्नो समूहबाट आयोजित सभामा पनि आलोचना गरे। यसबाट प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको मर्यादा कायम राख्न नसकेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।

प्रकाशित: १० फाल्गुन २०७७ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App