५ वैशाख २०८१ बुधबार
राजनीति

अनेरास्ववियूको आन्दोलन : प्रतिगमनलाई जुत्ता हान्नेदेखि सिंहदरबार अगाडि थाल ठटाउनेसम्म

बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयल निगम अगाडि प्रदर्शन गर्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरु। तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारविरुद्ध चौंथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले विज्ञप्तिमार्फत प्रतिगमनलाई जुत्ता हान्नेदेखि शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।  

चौंथो चरणका कार्यक्रम अन्तर्गतका बिहीबार अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगमको केन्द्रीय कायार्लय अगाडि प्रदर्शन गरेको थियो। आज उसले विश्वविद्यालय अनुदान आयोगको कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउँदै छ।

शनिबार अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० गते दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम रहेको छ। यस्तै, फागुन ११ गते त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, फागुन १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ।

यसैगरी, फागुन १६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबार अगाडि थाल ठटाएर जुलुस निकाल्ने कार्यक्रम रहेको छ।  

फागुन १८ गते प्रतिगमनविरुद्ध काठमाडौंमा शंख जुलुससहित बालुवाटार घेराउ गर्ने र काठमाडौं उपत्यका बाहिर सिडियो कार्यालय अगाडि प्रदर्शन गर्ने अनेरास्ववियूको विज्ञप्तिमा उल्लेख छ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै अनेरास्वयू (रञ्जित तामाङ समूह)ले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App