७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको प्राथमिकता महाधिवेशन कि चुनाव ?

नेपाली कांग्रेसले संसद् विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको कांग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने की नगर्ने ? कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरेको हो । तर अहिलेसम्मको आन्दोलन उसकै लागि बाध्यताको जस्तै बनेको छ । सडकमा संसद् विघटनको विरोधमा नारा लगाएपनि नेताहरूले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैन । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा फागुन ३ गते भएको विरोध प्रदर्शनमा नेताहरूले आगामी चुनावको प्रचार समेत गर्न भ्याए ।  

कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले संसद् विघटन गरेर सरकारले संविधानको हत्या गरेको बताए लगत्तै अर्की केन्द्रीय सदस्य पार्वता डिसी चौधरीले भने कांग्रेसले चुनावको विरोध गर्न नहुने बताइन् । विरोधका लागि आयोजना गरिएको कार्यक्रममा संसद् विघटनको समर्थनयुक्त मन्तब्यले कार्यकर्ता पंक्तीबाट पनि उनको आलोचना भयो । उनले भनिन् ‘मैले बुझ्न नसकेको कुरा कांग्रेसले किन चुनावको विरोध गरिरहने ? हामी चुनावमा जान किन नसक्ने ?’  

केन्द्रीय सदस्य चौधरीको यो भनाइले विरोधसभामा सहभागीहरूलाई अन्यौलता पैदा गराएको भन्दै अर्का केन्द्रीय सदस्य दीपक गिरीले चौधरीको भनाइलाई लक्षित गर्दै भने ‘यहाँ कसले के भन्यो त्यसप्रति ध्यान नदिनुहोस्, कांग्रेस संसद् विघटनको विरोधमा छ, विरोधमा रहन्छ, यो बाहेक अरु कुरा अहिले केही नसोच्नुस् ।’ संसद् विघटनका पक्ष र विपक्षमा कित्ता क्लियर गरेका कांग्रेसको संस्थापन पक्ष र इतर पक्षले संसद् विघटनको मुद्दालाई ‘शक्ति सञ्चय’ को लडाइका रूपमा लिन थालेको प्रष्ट हुन्छ ।  

कांग्रेस केन्द्रीय तहका नेताका अनुसार पार्टीभित्र उठेको संसद् विघटनको मुद्दा चुनाव वा पार्टीको महाधिवेशन ? भन्ने प्रश्नसंग जेलिएको छ । सभापति शेरबहादुर देउवा समूह चुनावको सम्भावित नतिजालाई टेकेर पार्टीको बागडोर पुनः सम्हाल्ने उद्धेश्यमा देखिन्छ, भने इतर समूहले कांग्रेस भित्रको ‘देउवा राज’ तोड्नका लागि चुनाव नभई पार्टीको महाधिवेशनमा जानुपर्ने जोड गर्दै आएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालका अनुसार संस्थापन पक्षले चुनाव भए पार्टी भित्र आफ्नो बहुमत पुनः कायम रहने भएकाले जसरी पनि चुनाव होस् भन्ने पक्षमा छ ।

सरकारले तोकेको वैशाख १७ र २७ मा चुनाव हुनु पर्ने भित्री मनसायमा रहेको देउवा समूहले चुनाव भइहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ । उक्त चुनावमा आउने विजयी नतिजाले देउवालाई थप बलियो बनाउने अपेक्षामा छ । तर, संस्थापन इतर समूहले भने संस्थापन पक्षको उक्त स्वार्थलाई राम्रोसँग बुझेको छ । त्यसैले पनि उक्त समूहका नेताहरूले चुनाव हुनै नसक्ने अभिव्यक्ति दिएर कार्यकर्ता पंक्तीलाई देउवाको ‘स्वार्थ’बाट टाढै राख्न चाहेको देखिन्छ । अहिले चुनावभन्दा पनि पार्टीको महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्ने उक्त समूहको भनाइ छ ।

संगठन कमजोर रहेको कांग्रेसको महाधिवेशन चुनाव अगावै हुन सके नेतृत्व सहजै आफ्नो पक्षमा आउने विश्वासमा सभापति इतर समूहका नेताहरूको भनाइबाट प्रष्ट हुन्छ । तर पार्टीको केन्द्रीय समितिले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै निर्णय समेत गरेको छ । सभापति देउवाले समेत पुस ६ गते विज्ञप्ति मार्फत संसद विघटन असंवैधानिक कदम भएको भन्दै विरोध गरेका थिए ।  

संसद् पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा जानु की नजाने भन्नेमा दुई समूहबीच विावद देखिन्छ । स्वाभाविकै रूपमा चुनाव नभए त्यसको फाइदा पौडेल समूहलाई हुने जिल्लास्तरका नेताको भनाइ छ ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App