६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसमा मौलाएको ‘अनुशासनहीनता’ आफैं आफ्नालाई हराउन उद्यत

पुस २० गते सम्पन्न घोराही उद्योग वाणिज्य संघको नेतृत्वका लागि व्यवसायीहरूबीच रस्साकस्सी चल्यो। नेकपा र नेपाली कांग्रेस सहमतिमै नेतृत्व चयन गर्ने टुंगोमा पुगे। तदनुरूप गरिएको भागबन्डामा नेकपा समूहका व्यवसायीहरू निर्विरोध चयन भए।

अध्यक्ष र कोषाध्यक्ष पद पाएको कांग्रेसभित्र भने विवाद देखियो। पार्टीले अध्यक्षमा आधिकारिक उम्मेदवार टंकसिंह बुढाथोकीलाई चयन गर्‍यो भने कोषाध्यक्षमा सुशील पोख्रेललाई। तर अध्यक्षका आकांक्षी वसन्त जोशी आफू बलियो उम्मेदवार रहेको उद्घोष गर्दै बागीमा उभिए। कोषाध्यक्षमा पनि धनपति शर्माले बागी हाले।

सहमतिमा ल्याउने पार्टीको अधिकतम प्रयास खेर गयो। अन्ततः उनीहरूबीच चुनावी भिडन्त भयो। पार्टीले तय गरेका आधिकारिक उम्मेदवारका पक्षमा पार्टीका सबै नेता लागेनन्। केही जिल्ला नेता बागी उम्मेदवारको प्रचारमा खुलेरै लागे। ‘हामी त्यो कांग्रेसका सदस्य हौं, जहाँ आफ्नैलाई हराउन मैदानमा प्रवेश गर्छौं,’ जिल्लाका एक कांग्रेस नेताले भने, ‘कांग्रेसभित्रको अनुशासन कहाँ गयो कहाँ ?’ बागीको प्रचारक भएका नेताहरूको सक्रियता सफल भने हुन पाएन।

अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल निर्वाचित भए। घोराही उद्योग वाणिज्य संघमा जस्तै कांग्रेसभित्रको ‘अनुशासनहीनता’ शनिबार सम्पन्न तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा पनि छताछुल्ल भयो। कांग्रेसले तोकेको चुनावी कमान्डर तथा कांग्रेसका पुराना नेता केशव आचार्यले भने, ‘कांग्रेसभित्र अनुशासन भन्ने ठाउँ त अब कतै देखिएन।’ 

कांग्रेसले यो उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवार टेकनप्रसाद बस्नेतलाई चयन गर्‍यो। बस्नेत यसअघि पनि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष भइसकेका थिए। कांग्रेसविरुद्ध नेकपा रामप्रसाद चालिसे नेतृत्वको समूह चुनावी मैदानमा होमियो। सहजै जित आँकलन गरिएका बस्नेत चालिसेसँग ३४ मतले पराजित भए।  

आचार्यले यो हारको प्रमुख कारण पार्टीको अन्तरघात भएको दाबी गरे। उनका अनुसार कांग्रेसभित्रको एउटा समूह कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उभियो। यही समूहले कांग्रेसी व्यवसायीहरू पनि आफ्नो मत नेकपाका उम्मेदवारलाई दिन प्रेरित भए। ‘यो उद्योग वाणिज्य संघमा कांग्रेसकै व्यवसायी साथीहरूमा व्यक्तिगत वर्चस्व कायम गर्ने प्रतिशोध पलायो,’ आचार्यले भने, ‘फलतः यो समूहको सक्रियता कारण पार्टीकै आधिकारिक उम्मेदवार हराउने पहिलो कारण बन्न पुग्यो।’ कांग्रेसबाटै चुनिएका अन्य उम्मेदवारले भने चुनाव जिते।

‘कांग्रेसले चुनाव जितेकै हो तर कांग्रेसभित्रको अनुशासनहीनताले कांग्रेसकै उम्मेदवारलाई हराइदियो,’ आचार्यले भने, ‘पार्टीभित्रको यो अनुशासनहीनताले अब दीर्घकालीन रूपमा पार्टीलाई पराजित गर्दै लैजाने खतरा मैले देखिरहेको छु।’ उनले आफू चुनावी कमान्डर रहेकाले उक्त हारको जिम्मा लिने बताए।

उद्योग वाणिज्य संघमा देखिएको अनुशासनहीनताले पार्टीका हरेक निर्वाचनमा असर पार्ने खतरा कांग्रेसीहरू देखिरहेका छन्। घोराहीमै भएको उद्योग वाणिज्य संघको निर्वाचनले पनि पार्टीभित्रै प्रतिशोधको भाव पैदा गराइदिएको छ। ‘यस्ता विभिन्न क्षेत्रमा हुने साना निर्वाचनको भूमिकाले पार्टीलाई संसदीय निर्वाचनमा समेत प्रभाव पार्दै लैजान्छ,’ गत प्रदेशसभा उपचुनावका कांग्रेस उम्मेदवारसमेत रहेका आचार्यले भने, ‘यहाँ साना निकायमा हुने अन्तरघातले भोलि पार्टीकै संसदीय चुनावलाई प्रभाव पार्नेछ।’  

आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने कांग्रेसीविरुद्ध कांग्रेसभित्रकै अर्को समूह लागिपरेको सार्वजनिक भइरहेको नेताका धारणाहरूले पुष्टि गरिरहेकै छन्। नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कांग्रेसलाई बन्धक बनाएर पैसाको खेल गर्ने नेताको पर्दाफास गरौं।’  

उम्मेदवार चयनको निर्णयलाई प्रक्रियामा लगेरै निर्णय गर्नुपर्नेमा त्यसो हुन नसक्दा आकांक्षीमा बढी प्रतिशोधको भावना जागृत हुने गरेको कांग्रेसका निवर्तमान जिल्ला सचिव कमलकिशोर घिमिरेले बताए। ‘उद्योग वाणिज्य संघलगायत संस्थाको निर्वाचनमा हुने आफ्नैविरुद्धको अन्तरघातले स्वाभाविक रूपमा पछिसम्म असर पार्छ,’ उनले भने, ‘उम्मेदवार चयनको निर्णय प्रक्रियामा नगएर निर्णय गर्दा पनि यो खालको मनोभाव कांग्रेसीहरूमा पैदा हुँदै गइरहेको छ।’ उम्मेदवार चयन प्रक्रिया पार्टीको जिल्ला समितिले नै गर्नुपर्ने उनको तर्क छ।

प्रकाशित: ३ फाल्गुन २०७७ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App