coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसभित्र मौलाएको ‘अनुशासन हिनता’ : आफ्नालाई आफ्नैले हराउँछन्

पुस २० गते भएको दाङ जिल्ला उद्योग बाणिज्य संघको नेतृत्वका लागि ब्यवसायिहरुबीच रस्साकस्सी चल्यो । नेकपा समूह र कांग्रेसको समूहबीच सहमतीमै नेतृत्व चयन गर्ने सहमती बन्यो । नेकपा र कांग्रेसी ब्यवसायि बिच पद बाँडफाँड गरेर नयाँ कार्य समिति चयन गर्ने सहमती मुताबिक नेकपा समूहका ब्यवसायिहरु निर्बिरोध चयन भए ।

 तर अध्यक्ष र कोषाध्यक्ष पदको भाग पाएको कांग्रेस भित्र भने बिबाद भयो । पार्टीले अध्यक्षमा आधिकारीक उम्मेदवार टंकसिंह बुढाथोकीलाई चयन गर्यो भने कोषाध्यक्षमा सुशील पोख्रेल उम्मेदवार चयन भए । तर अध्यक्षका आकांक्षी बसन्त जोशीले आँफूलाई नेतृत्वको बलियो उम्मेदवार रहेको भन्दै पार्टीका आधिकारीक उम्मेदवार बुढाथोकी बिरुद्ध बागी हाले भने कोषाध्यक्षमा धनपती शर्माले बागी हाले । सहमतीमा ल्याउने पार्टीको अधिकतम प्रयासका बावजुत पनि जोशी र धनपतीले बागी उम्मेदवारी फिर्ता लिन मानेनन् । अन्ततः अध्यक्षमा कांग्रेसकै बुढाथोकी र जोशी तथा कोषाध्यक्षमा पनि कांग्रेसकै पोख्रेल र शर्मा चुनावमा भिडे ।  

पार्टीले तय गरेका आधिकारीक उम्मेदवारका पक्षमा पार्टीका सबै नेताहरु लागेनन् । आफ्नै पार्टीले तोकेका आधिकारीक उम्मेदवारका पक्षमा नभई केहि जिल्ला नेताहरु बागी उम्मेदवारको प्रचारमा खुलेरै लागे । ‘हामी त्यो कांग्रेसका सदस्य हौँ, जहाँ आफ्नैलाई हराउन मैदानमा प्रवेश गर्छौँ,’ जिल्लाका एक कांग्रेस नेताले भने ‘कांग्रेस भित्रको अनुशासन कहाँ गयो कहाँ ?’ आफ्नै पार्टीका आधिकारीक उम्मेदवार बिरुद्ध रहि बागीको प्रचारक भएका नेताहरुको सकृयता सफल भने भएन । पार्टीका आधिकारीक उम्मेदवार अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल निर्वाचित भए ।

घोराही उद्योग बाणिज्य संघमा जस्तै कांग्रेस भित्रको ‘अनुशासन हिनता’ शनिबार भएको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा पनि छरपष्टै भयो । कांग्रेसले तोकेको चुनावी कमाण्डर तथा कांग्रेसका पुराना नेता केशव आचार्य भन्छन् ‘कांग्रेस भित्र अनुशासन भन्ने ठाउँ त अब कतै देखिएन ।’ कांग्रेसले यो उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार टेकनप्रसाद बस्नेतलाई चयन गर्यो । बस्नेत यसअघि पनि तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष भैसकेका थिए । कांग्रेसका बिरुद्ध नेकपा रामप्रसाद चालिसेको नेतृत्वमा चुनावी मैदानमा होमियो । सहजै जीत आँकलन गरिएका बस्नेत चालिसे संग ३४ मतले पराजित भए ।  

चुनावी कमाण्डर आचार्यले यो हारको प्रमुख कारण पाटीभित्रै भएको अन्तरघात भएको दाबी गरे । उनका अनुसार कांग्रेस भित्रको एउटा समुह कांग्रेसका आधिकारीक उम्मेदवार बिरुद्ध उभियो । यहि समुहले कांग्रेसी व्यवसायिहरुको मत नेकपाका उम्मेदवारलाई हाल्न प्रेरित गर्यो । ‘यो उद्योग बाणिज्य संघमा कांग्रेसकै व्यवसायि साथीहरुमा ब्यक्तिगत बर्चश्व कायम गर्ने प्रतिशोध पलायो,’ आचार्यले भने ‘फलतः यो समुहको सकृयता कारण पार्टीकै आधिकारीक उम्मेदवार हराउने पहिलो कारण बन्न पुग्यो ।’ कांग्रेसबाटै चुनिएका अन्य उम्मेदवारहरुले भने चुनाव जितेका छन् । 

तर अध्यक्षमा भने बस्नेत झिनो मतान्तर पराजित बन्नुलाई आचार्यले पार्टी भित्रको अन्तरघात नै प्रमुख कारण भएको दाबी गर्छन् । ‘कांग्रेसले चुनाव जितेकै हो,तर कांग्रेस भित्रको अनुशासन हिनताले कांग्रेसकै उम्मेदवारलाई हराईदियो,’ आचार्य भन्छन् ‘पार्टी भित्रको यो अनुशासन हिनताले अब दिर्घकालिन रुपमा पार्टीलाई पराजित गर्दै लैजाने खतरा मैले देखिरहेको छु ।’ तर उनले आँफू चुनावी काण्डर रहेकाले उक्त हारको जिम्मा आँफूले नै लिने वताए ।  

आचार्यले भनेजस्तै तुलसीपुर उद्योग बाणिज्य संघमा पराजित समुहले आफ्नै बिरुद्ध प्रतिशोध साँध्नु स्वाभाविकै हो । उद्योग बाणिज्य संघमा देखिएको कांग्रेसको अनुशासन हिनताले पार्टीका हरेक निर्वाचनमा असर पार्ने खतरा कांग्रेसीहरुले देखिरहेका छन् । घोराहीमै भएको उद्योग बाणिज्य संघको निर्वाचनले पनि पार्टीभित्रै प्रतिशोधको भाव पैदा गराईदिएकै छ । ‘यस्ता बिभिन्न क्षेत्रमा हुने साना निर्वाचनको भुमिकाले पार्टीलाई संसदीय निर्वाचनमा समेत प्रभाव पार्दै लैजान्छ,’ गत प्रदेशसभा उपचुनावका कांग्रेस उम्मेदवार समेत रहेका आचार्य भन्छन् ‘यहाँ साना निकायमा हुने अन्तरघातले भोली पार्टीकै संसदीय चुनावमै प्रभाव पार्ने छ ।’

आधिकारीक उम्मेदवारलाई हराउन भुमिका खेल्ने कांग्रेसी बिरुद्ध कांग्रेस भित्रकै अर्को समुह कुण्ठा पालेर बसेको बाहिर सार्वजनिक भैरहेका नेताका धारणाहरुले पुष्टि गरिरहेकै छन् । नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिका घर्तीले तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘कांग्रेसलाई बन्धक बनाएर पैसाको खेल गर्ने नेताको पर्दाफास गरौँ ।’

त्यसोत, पार्टीको निर्णय प्रकृयामा नगई गरिने निर्णयले पनि पार्टी भित्रको अन्तरघात मौलाउँदै जाने नेताहरु बताउँछन् । उम्मेदवार चयनको निर्णयलाई प्रकृयामा लगेरै निर्णय गर्नुपर्नेमा त्यसोत हुन नसक्दा आकांक्षीलाई बढि प्रतिशोधको भावना जागृत हुने गरेको कांग्रेसका निवर्तमान जिल्ला सचिव कमलकिशोर घिमिरे बताउँछन् । ‘उद्योग बाणिज्य संघ लगाएतका संस्थाको निर्वाचनमा हुने आफ्नै बिरुद्धको अन्तरघातले स्वाभाविकै रुपमा पछि सम्म असर पार्छ,’ उनले भने ‘उम्मेदवार चयनको निर्णय प्रकृयामा नगएर निर्णय गर्दा पनि यो खालको मनोभाव कांग्रेसीहरुमा पैदा हुँदै गईरहेको छ ।’ उम्मेदवार चयन प्रकृया पार्टीको जिल्ला समितिलेनै गर्नुपर्ने तर्क उनि गर्छन् ।

क्षेत्रीय र जातीय भेदको शिकारमा कांग्रेस

घोराही उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेसबाट आधिकारीक उम्मेदवार चयन भएका टंकसिंह बुढाथोकीलाई केहि नेताहरुले अस्वीकार गर्नुको पहिलो कारण थियो क्षेत्रीय बिभेद । जिल्लाको पश्चिम क्षेत्रबाट घोराहीमा आएर ब्यवसायमा लागेको भन्दै उनलाई ‘आगन्तुक’ भनेर प्रचार गरियो । घोराहीकै रैथाने बागीलाई जिताउनु पर्ने भन्दै कांग्रेसका जिल्ला स्तरिय केहि नेताहरु ब्यवसायिको मत तान्ने अभियानमै लागेका थिए । उद्योग बाणिज्य संघको यो निर्वाचन मात्रै नभई यस्ता संघसंस्थामा हुने निर्वाचनमा कांग्रेसीहरुले उक्त उम्मेदवारको ‘क्षेत्रीय स्टाटस’ लाई हेर्ने गर्दछन् । 

सोही अनुसार आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने वा घात गर्ने भन्नेमा नेताहरुले निर्णय लिने गरेका छन् । यसैगरि दाङ कांग्रेसको राजनीतिमा जातीयताको नाराले पनि प्रमुख रुपमा भुमिका खेल्दै आएको छ । बाहुनबाद र क्षेत्रीबादको राजनीतिमा कांग्रेस लरबरिएको छ । ‘बाहुनले क्षेत्रीलाई र क्षेत्रीले बाहुनलाई अगाडी जान दिनुहुन्न भन्ने गलत मानसिकताबाट कांग्रेसको राजनीति अगाडी बढेको छ,’ जिल्लाका एक कांग्रेस नेताले भने ‘पार्टीभित्र हुने अन्तरघातको अर्को प्रमुख कारण यो पनि हो ।’

प्रकाशित: २ फाल्गुन २०७७ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App