८ वैशाख २०८१ शनिबार
राजनीति

महिला हिंसाविरुद्ध मार्च

महिंला हिंसाविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार राजधानीमा निकालेको ‘सिंहदरबार महिला मार्च’ पछि भद्रकालीमा आयोजित कोणसभा । प्रतीकात्मक शवसहितको मार्चका सहभागीले कोणसभामा महिला हिंसाविरुद्ध प्रस्तुति दिएका थिए । तस्बिर : दिपेश श्रेष्ठ/नागरिक

प्रतीकात्मक शव बोकेका प्रदर्शनकारीको भीड न्युरोड हुँदै सिंहदरबारतर्फ लम्किँदै थियो । भद्रकाली मोडमा प्रहरी उनीहरूलाई नियन्त्रणमा लिने तयारीमा जुट्दै थियो । प्रदर्शनकारीले भनिरहेका थिए, ‘बलात्कारीलाई कारबाही गर ।’ यो दृश्य बृहत् नागरिक आन्दोलनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सिंहदरबार महिला मार्च’ को हो ।

वसन्तपुरबाट सिंहदरबारका लागि सुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकाली पुगेर अघि बढ्न सकेन । प्रहरीले रोकेपछि मार्च त्यहीं कोणसभामा परिणत भयो । कार्यक्रममा बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता भइसक्दा पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको विरोध गरियो ।  

सरकारको असंवैधानिक कदमविरुद्ध प्रतीकात्मक शव बनाएर दाहासंस्कार गरिएको बृहत् नागरिक आन्दोलनका अगुवाले बताए । कोणसभामा अधिकारकर्मी हिमा बिष्टले सत्तामा पुगेर जनतालाई बेवास्ता गर्ने दललाई अब नागरिकले भोट नदिने चेतावनी दिइन् । ‘निर्मला पन्तदेखि भागरथी भट्टसम्मको बलात्कार र हत्याका घटनामा हामीले न्याय पाएका छैनौं,’ उनले भनिन्, ‘हामी गाउँगाउँदेखि कराइरहेका छौं । सिंहदरबार र बालुवाटारलाई फरक पर्दैन । तर हामी जनतालाई फरक पर्छ । किनभने निर्मला, सम्झना र भागरथी हामी नै हौं । पटकपटक हाम्रो बलात्कार हुन्छ । तर सुन्ने कोही हुँदैनन् । सत्तामा जान भोट हाम्रो चाहिन्छ । याद राख्नुस्, भोलिका दिनमा चुनाव हुँदा अहिले हामीलाई बेवास्ता गर्नेलाई भोट मिल्ने छैन ।’

वर्तमान सरकार महिलामाथि बन्देज लगाउन लागिपरेको तर्क उनले राखिन् । ‘नागरिक आन्दोलनले के भन्छ भने हामीलाई निरकुंश शासन चाहिएको छैन,’ उनले भनिन्, ‘सत्तामा पुग्नेले सबै कुरा बिर्सन्छन् । भिजिट भिसामा विदेश जान ४० वर्षमुनिका महिलालाई वडाको सिफारिस चाहिने रे । भोलि गएर बच्चा जन्माउन पनि वडाको सिफारिस चाहिने होला ? आफ्नो हकका लागि जनता सडकमा आउनुपर्छ । किनभने सिंहदरबार र बालुवाटारले सुन्ने हो ।  

रिटायर्ड जीवन नबिताएर पित्तृसत्ता सोच भएका कम्युनिस्टका बुढा नेताहरू सडकमा खोक्दै आउने होइन ।’

कोणसभामा प्रधानमन्त्री केपी ओलीले महिला आवाजलाई ‘ट्याउँ–ट्याउँ’ को संज्ञा दिएको भन्दै महिला अधिकारकर्मीले विरोध गरे । सभालाई सम्बोधन गर्दै लेखक डा. अर्चना थापाले भनिन्, ‘महिला उभिएर बोल्न थाल्यो भने हाम्रो सरकारले त्यसलाई ट्याउँ–ट्याउँ भन्छ । के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौं ?’ ‘निर्मला पन्तको हत्यापछि गृहमन्त्रीले सभ्य समाजमा बलात्कार हुन्छ भन्नुभयो,’ उनले भनिन्, ‘तपाईंलाई लाग्दैन सरकारले बलात्कार संस्कृति प्रवद्र्धन गर्दैछ ? प्रधानमन्त्रीज्यूलाई हामी बोलेको ट्याउँ–ट्याउँ लाग्न सक्छ । हामी त्यही ट्याउँ–ट्याउँ अर्थ नै बुझाउन चाहन्छौं । यो आवाज निभ्न नदिऊँ ।’  

अधिकारकर्मी रजनी मिलाले भनिन्, ‘थोरैमात्रै नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्छ ।’ कोणसभामा सन्ध्या बज्राचार्य, सपना अधिकारी र शम्शाद आदिलले कविता वाचन गरेका थिए । शिल्पी थिएटर, आभा फर क्रिएटिभिटी र पोलिटिकल लिट्रेसी फर वुमनले प्रस्तुति दिएका थिए । त्यसअघि महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारीलाई कारबाही माग, बलात्कारका घटना रोक्नुपर्ने, पीडितले न्याय पाउनुपर्ने, पीडकले उन्मुक्ति पाउन नहुनेलगायत नारा लगाइएको थियो । मार्चमा सहभागीले महिला हिंसा रोक्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोखेका थिए । शंख बजाउँदै प्रतीकात्मक शवसहितको मार्चमा प्रतिनिधिसभा विघटनको पनि विरोध गरियो ।

प्रकाशित: १ फाल्गुन २०७७ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App