१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘शासक सेवक हुन्छन् भनेको शोषक भए’

काठमाडौंको शोभाभगवतीमा सहिदप्रति श्रद्धाञ्जलीसहित संसद् विघटनको विरोधमा नागरिक समाजले गरेको सांकेतिक विरोध कार्यक्रममा सहभागी । तस्बिर: मोनिका मल्ल/नागरिक

बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा सम्पादक नारायण वाग्लेले आउँदो फागुन ७ प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा भेला हुन आह्वान गरेका छन् । मंगलबार शोभा भगवतीमा प्रतिगमनविरुद्ध भएको ‘बृहत नागरिक आन्दोलन’लाई सम्बोधन गर्दै सम्पादक वाग्लेले फागुन ७ गते काँडेतार हटाएर टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताएका थिए ।

‘कुनै राजनीतिक दलहरूको मातहत होइन, उनीहरूलाई अब मुनि ल्याएर नागरिहरूको उद्दारमा नयाँ कार्यदिशा दिनको लागि टुँडिखेलमा जहाँ प्रजातन्त्रको घोषणा भएको थियो,’ उनले भने, ‘यसै मञ्चबाट आह्वान गर्दछु, काँडेतार हटाएर भएपनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । त्यही सभामा हाम्रो बृहत् नागरिक आन्दोलनको घोषणा पत्र हामी सार्वजनिक गर्नेछौं । नयाँ जनआन्दोलनको उभार त्यसपछि हामीले निम्त्याउने छौं । नयाँ आन्दोलनको लागि नयाँ सिराबाट सोचेर सरिक हुन निमन्त्रणा गर्दछौं ।’

उनले २००७ सालपछिको इतिहास पुनः व्याख्या गर्दै शासकहरूले गलत रवैया देखाएर काम गरेको भन्दै त्यसको एक–एक हिसाब टुँडिखेलबाट मागिने बताएका थिए । उनले ७० वर्षपछि प्रजातन्त्रको इतिहास पुनः व्याख्या गर्नुपर्ने अवस्था आएको तर्क गरेका थिए । ‘७० वर्षपछि फेरि प्रजातन्त्रको इतिहास पुनः व्याख्या गर्दै कहाँ–कहाँ नागरिक अधिकार कुण्ठित गरियो ? दमन गरियो ? हमला गरियो ? फेरि हामी पुनःप्रश्न गर्ने भएका छौं,’उनले भने, ‘२००७ सालपछिको इतिहासलाई पुनःव्याख्या गर्दै हाम्रा हरेक शासकहरूले कुन गलत काम गरे ? कुन गलत नीति लिए ? एक–एक हिसाब माग्नको लागि अब हामीले फागुन ७ गते टुँडिखेलमा भेला हुनुपरेको छ । टुँडिखेलमा भेला भएर ७० वर्षदेखिको एक–एक हिसाब माग्नु पर्ने भएको छ ।’

उनले राणा शासन र आजको अवस्था फरक नभएको टिप्पणी गरेका थिए । उनले भने, ‘राणा शासनमा हाम्रा ठूला–ठूला निवासहरूमा कफ्र्यु लाग्थ्यो । सिंहदरबार वरिपरि हिँड्न पाइन्थेन । कफ्र्यु थियो । अहिले निशेषाज्ञा छ । फरक कहाँ छ ? महत्वपूर्ण ठाउँमा काँडेतार छ । फरक कहाँ छ ?’

उनका अनुसार हिजो जनताको गास खोसेर सिंहदरबार निर्माण गर्दा देशमा अनिकाल परेको हुँदा सेवक बन्नुपर्ने शासकहरू शोषक बनेका छन् । ‘हिजो ‘सिंहदरबार कसले बनायो ? त्यो माटो केले बनेको थियो सिंहदरबारको ? नेपाली जनताको चामल र मास घर घरबाट खोसेर ल्याएर बनाएको थियो । ६ महिनासम्म पहाडमा अनिकाल पर्‍यो । भक्तपुर र काठमाडौंमा पनि अनिकाल पर्‍यो । हाम्रा बालबच्चाहरू कुपोषणको सिकार भए,’ वाग्लेले भने, ‘त्यो सिंहदरबार र शासकहरूलाई आज के भयो ? शासकहरू सेवक हुन्छन् भनेर सोचेको फेरि शोषक भए ।’

त्यस्तै जनतालाई खोप लगाउने पैसाले तोप पड्काउने शासकको गलत नीतिको चिरफार गर्ने उनले चेतावनी समेत दिएका थिए । ‘राज्यकोषको एक अर्ब रुपैयाँ शिवलिंगमाथि सुनको जलरी हाल्नको लागि लुट भयो,’ उनले स्मरण गराएका थिए, ‘त्यसकारण लोकतन्त्रमा राज्यकोषको खोप लगाउने पैसाले तोप पड्काउने शासकहरूलाई एक–एक हिसाब सोध्नको लागि र गलत नीतिको चिरफार गरेर नयाँ आन्दोलनको उभार उठाउनु छ ।’

कार्यक्रममा दशरथ चन्द र गंगालाल श्रेष्ठले तानाशाही शासकको विरुद्धमा आवाज बुलन्द गर्दा छातीमा गोली थापेर मृत्युवरण गरेका स्मरण गराउँदै ‘जनता जागेपछि’ नाटक मञ्चन भएको थियो । शिल्पी थिएटरले चार सहिदहरूमध्ये दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी मारिएको स्थान शोभा भगवतीमा नाटक प्रस्तुत गरेको थियो । प्रतिगमनविरुद्ध सहिदहरूको कथालाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको तर्क नाटक निर्देशक पवित्रा खड्काले गरेकी थिइन् । त्यस्तै नागरिक आन्दोलनलाई समर्थन गर्दै स्रष्टाहरू उर्मिला गम्बा थारु, कैलाश राई र अरुणदेव जोशीलगायतले आफ्नो शब्द र सिर्जना प्रस्तुत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बृहत् नागरिक आन्दोलन सुरू भएको थियो ।

प्रकाशित: २१ माघ २०७७ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App