शिक्षाविद् केदारभक्त माथेमाले विकृति मौलाइरहेको अवस्थामा नेपालले महंगो चुनाव खर्च धान्न नसक्ने तर्क गरेका छन्। आइतबार राजधानीको सिफलमा संसद् विघटनको विरोधमा ‘बृहत्त नागरिक आन्दोलन’ले आयोजना गरेको खबरदारी कार्यक्रममा बोल्दै उनले महँगो चुनाव पद्धतिले भ्रष्टाचारलाई प्राथमिकता दिएको बताए।
‘संसद् पुनस्र्थापनाको कुरा भइरहेको अवस्थामा भयानक विकृति देखिएको छ,’ उनले भने, ‘भ्रष्टाचार र गडबडीको कारण मानिने महँगो चुनाव पद्धति नेपालले धान्न सक्दैन्। नेताहरूले राजनीतिलाई आफ्नो बिर्ता पाएजस्तो ठानेर हरेक कुरालाई राजनीतिकरण गरिदिएका छन्। त्यसैले नागरिक समाज बढेर आओस्।’
प्रजातान्त्रिक मूल्य र मान्यता खतरा पर्ने अवस्थामा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने तर्क गर्दै यस आन्दोलनमा प्राध्यापकहरूको सहभागिता नदेख्दा दुःख लागेको माथेमाको भनाइ थियो। ‘जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिन्छन्, पछारिन्छन् र फालिन्छन्,’ उनले भने, ‘नागरिक समाज उठ्नुपर्छ। नागरिक समाजको आन्दोलनमा प्राध्यापक देखिनु पर्ने अवस्थामा नदेखिनु दुःखको कुरो हो।’
माथेमाले हरेक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपप्रति आपत्ति जनाए। ‘विश्वविद्यालय, विद्यालय र प्रशासनलगायत सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप छ,’ उनले भने, ‘हुँदा–हुँदै संवैधानिक निकायहरूमा समेत प्रभाव छ। अब यसलाई बन्द गर्नै पर्छ। हरे शिव ! कोही बेला त के गरुँ के गरुँ हुन्छ। मैले चारजना प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर बिन्ती गरेर भनेको थिएँ, विश्वविद्यालयमा हात नबढाउनुस् भनेर। जुन जुन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन्छ, त्यो विश्वविद्यालयले कहिल्यै पनि राम्रो गर्न सक्दैन। तर उनीहरूले त्यही गरे। यसको हामीले अन्त्य गर्नैपर्छ।’ संघीयता र समाजवादप्रति सरकार र दलहरूको प्रतिबद्धता नदेखिएको भन्दै प्राध्यापक माथेमाले असन्तुष्टि जनाए। ‘संघीयताप्रतिको प्रतिबद्धता आउनु प¥यो,’ उनले भने, ‘भाषणमामात्रै होइन। अहिले के भयो, ६ महिनापछि के गर्नुहुन्छ ? अधिकार प्रत्यायोजन गर्दै जानुपर्ने हो। समाजवादी खालको रिपोर्ट आयो भने चकटीमुनि राखिदिने, बाहिर निकाल्दै, निकाल्दैनन्। हाम्रो चिकित्सा शिक्षाको प्रतिवेदन पनि उहाँहरूले डेढ महिनासम्म लुकाइदिनु भयो। यस्तो नि प्रजातन्त्र ? यो प्रजातन्त्र हो भने हामीलाई चाहिएन।’
कार्यक्रमलाई सम्बोधन गर्दै विश्लेषक तुलानारायण साहले विदेशी राजदूतावासलाई लक्षित गरेर नेपालका राजनीतिक दल फुटाउनतिर नलाग्न आग्रह गरे। ‘पार्टीलाई फुटाएपछि आफ्नोे बाटो सहज हुन्छ भन्ने तर्फ कृपया महामहिमज्युहरू नलागिदिनुस्। अहिलेसम्म नेपालमा स्थिरता किन भएन ? कुनै नेतालाई दिनको तीन पटक भेट्ने, कुनै नेतालाई बोलाएर भेट्ने, कुनै नेतालाई च्याप्ने र कुनै पार्टी फुटाउने काम बन्द गर्नुस्।’
नेपालीले आफ्नो देशमा स्थिरता चाहेको तर्क गर्दै उनले आगामी पुस्तालाई अस्थिरताको मारमा नधकेल्न राजदूतहरूलाई आग्रह गरे। ‘कतिपयले हाम्रो लोकतान्त्रिक यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन्छौं,’ उनले भने, ‘तर, अब राजनीतिक सक्रियता नहोस् भन्ने आग्रह गर्दछु।’ कार्यक्रममा युग पाठक र रिता परियारलगायतले आफ्नो भनाइ राखेका थिए।
प्रकाशित: १९ माघ २०७७ ०३:०० सोमबार