१६ चैत्र २०८० शुक्रबार
राजनीति

अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी छ : अर्थमन्त्री पौडेल

तस्वीर : रासस

अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी रहेको बताएका छन् । उनले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचन हुने पक्का भइसकेका कारण निर्वाचनबाट असल प्रतिनिधि छनोट गर्ने अधिकार जनतालाई भएको बताए ।  

बुटवलको चौराह–चिडियाखोला सडक विस्तार कार्यको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जनताको चाहनाविपरीतका कार्यले गर्दा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय सरकारले गरेको उल्लेख गरे । ‘प्रतिपक्षभन्दा पनि आफ्नै दलको विरोधले गर्दा सरकारलाई समस्या भयो’, मन्त्री पौडेलले भने , ‘छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गरी सरकार जनतासँग जाने निर्णमा पुगेको हो ।’

अर्थमन्त्री पौडेलले मुलुक विकास निर्माणको महाअभियानमा अघि बढेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न आफ्नो दलका नेताले व्यवधान सिर्जना गरेको बताए ।  मन्त्री पौडेलले बुटवल नारायणगढ, बुटवल धानखोल सडक स्तरोन्नति, तिनाउ दानव करिडोर सडक आयोजना, झुम्साखोला खानेपानी, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, तिनाउ नदी डाइभर्सन, अन्तरराष्ट्रिय विमानस्थल, मेडिकल कलेज निर्माण र सिद्धबाबा सुरुङ मार्ग निर्माण प्रक्रियामा रहेको भन्दै यी योजना सम्पन्न हुँदा रुपन्देही विकासको नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गरे । रासस 

प्रकाशित: १४ माघ २०७७ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App