८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा भारतीय गणतन्त्र दिवस मनाइयो

भारतको ७२औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको कार्यक्रम नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले झन्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएर सुरु गरेका थिए । त्यसलगत्तै उनले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । गणतन्त्र दिवसको अवसरमा दूतावासले वीर नारी, मृतक सैनिकका पत्नी र मृतक सैनिकका आफन्तलाई ३ करोड ३८ लाख रुपैयाँ नगद तथा कम्बल वितरण गरी सम्मान गरेको थियो ।  

सो अवसरमा दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थालाई पुस्तक प्रदान गरेको थियो । गणतन्त्र दिवसका अवसरमा दूतावासले इन्डिया हाउसमा स्वागत समारोहको समेत आयोजना गरेको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मुख्य अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले ‘सम्पर्क इन्डिया–नेपाल अलमुनाई नेटवर्क’ तथा सम्पर्क भारत नेपाल डटकम अनलाइनको समेत शुभारम्भ गरेका थिए ।  

उक्त कार्यक्रममा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, सरकारी अधिकारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको थियो । उक्त अवसरमा भारतीय दूतावासद्वारा आयोजित फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित: १४ माघ २०७७ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App