४ वैशाख २०८१ मंगलबार
राजनीति

चुनावका नाममा संविधान मास्न पाइँदैन : रामचन्द्र पौडेल

फाइल तस्वीर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावका नाममा संविधान मास्न नपाईने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पौडेलले चुनावका नाममा संविधान विपरित काम गर्न नपाईने बताएका हुन् ।  

अहिलेको अवस्थामा  संसद पुनःस्थापना बाहेक अन्य कुनै विकल्प नरहेको उनले बताए । ‘संसद पुनस्थापनाबाहेक अन्य विकल्प छैन’, उनले भने,‘चुनावका नाममा संविधान विपरित  मनपरी गर्न कसैले पाउँदैन ।’ अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गर्ने, सरकार ढल्ने अवस्था आए प्रतिनिधिसभा नै विघटन गर्ने हो भने सँधै चुनाव भइरहने र त्यसरी हुने चुनाव देशले नधान्ने उनले स्पष्ट पारे । संविधान विपरित चुनाव गर्दै जाने भए संधै चुनावमात्रै गरिरहनुपर्ने अवस्था आउने पौडेलले बताए । उनले भने‘, प्रतिनिधिसमा पुनःस्थापना नभए जसले जिते पनि संसद भंग गर्ने र चुनावमा गइहाल्ने बिक्रित अवस्था आउँछ ।’  

पौडेलले चुनावका नाममा देशलाई अफगानिस्तानको बाटो तर्फ लैजान नहुने बताए ।  प्रतिनिधिसभा विघटनलाई केपी ओलीले राजनीतिक निर्णय भन्ने गरेको तर, संविधानमै नभएको कुरा प्रधानमन्त्रीले गर्ने हो भने जसले जे गरे पनि हुने पौडेलले बताए । ‘मैले गरे गरे भन्ने लोकतन्त्र हैन त्यसैका लागि ७० वर्ष लडेर हामीले यो व्यवस्था  ल्याएका हैनौं’  पौडेलले भने ।

 पौडेलले प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस रहेको स्पष्ट पारे । प्रतिपक्षीदल भएकाले प्रदेशहरूमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने  उनको भनाई छ । उनले भने‘कांग्रेसले सरकारको खिलाफमा मतदान गर्छ ।’  

प्रकाशित: १० माघ २०७७ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App