७ वैशाख २०८१ शुक्रबार
राजनीति

'प्रचण्ड–नेपाल पक्षमा हाँडीघोप्टे प्रवृत्ति छ, ओलीले नेपालमा कसैको हैकम नचल्ने स्थिति बनाए'

फाइल तस्वीर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्काेटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद देखेर पूर्व माओवादीका नेताहरु आफूहरुतिर आएको बताएका छन्। शनिबार काभ्रेमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले ओली नेतृत्वको सरकारले नेपालमाथि कसैको हैकम नचल्ने स्थिति निर्माण गरेको दाबी गरे।

‘अहिले राष्ट्रियताको संरक्षणको प्रश्न, राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न र नेपालीले शीर ठाडो पारेर नेपालमाथि कसैको हैकम नचल्ने स्थिति बनाउने आन्दोलनको, त्यो भूमिकाको, त्यो नेपाली मनको, त्यो नेपाली इतिहासको रक्षा गर्ने तागत र क्षमता प्रधानमन्त्रीको कुर्सीमा बसेर कसैको प्रवाह नगरेर कमरेड केपी ओलीले लिएको हुनाले राष्ट्रवादको झण्डा फहराउने सर्तमा प्रचण्डको पछि लागेका नेताहरु ओलीको पक्षमा छन्,’ बाँस्कोटाले भने।  

उनले प्रचण्ड–नेपाल समूहमा हाँडीघोप्टे प्रवृत्ति रहेको समेत जिकिर गरे। उनले आफूहरु गुटको पक्षमा नरहेको बरु पार्टी र देश बनाउनको लागि परेको उनको भनाई छ। ‘उहाँहरुको हाँडीघोप्टे मानसिकताको पार्टी बनेको छ। मैं खाउँ, मै लाउँ, सुख सयल मैं गरुँ भन्ने हाँडीघोप्टे प्रवृत्ति छ त्यहाँ,’ नेता बाँस्कोटाले भने, ‘उहाँहरु आफू बन्ने कुरामा लाग्नुभएको छ। तर, हामी गुट होइन पार्टी बनाउने कुरा गरिरहेका छौं। हामी आफ्नो होइन देश बनाउने कुरा गरिरहेका छौं।’

तत्कालीन नेकपा माओवादी र नेकपा एमाले विघटन भइसकेको उल्लेख गर्दै उनले अब नेकपामात्र बाँकी रहेको र त्यसलाई बलियो बनाउनेमा आफूहरु लागेकोमा जोड दिए।  

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको थियो। त्यसको विरोधमा नेकपाभित्रैको प्रचण्ड–नेपाल समूह पक्ष सडकमा छ भने ओली पक्षले उक्त निर्णयको बचाउ गर्दै आएको छ। हाल प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रकाशित: १० माघ २०७७ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App