६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसमा जुटेन सहमति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ । पार्टीको भूमिका तय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र वाग्मती प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । छलफल बिनानिष्कर्ष टुंगिएको छ ।  

सभापति देउवासहित संस्थापन पक्ष प्रदेशहरूमा देखिएको सत्ता संकटको समाधान स्थानीय आवश्यकता हेरेर प्रदेशकै पार्टी संयन्त्रलाई निर्णय गर्न दिने पक्षमा देखिएको छ । इतर पक्ष भने प्रदेश समिति नभएकाले केन्द्रले नै सत्ता साझेदारीबारे नीति बनाउनुपर्ने अडानमा छ ।  

छलफलमा सभापति देउवाले जुन पक्षले कांग्रेसलाई मुख्यमन्त्री बनाउन सहयोग गर्छ उसैसँग मिलेर अघि बढ्ने बताए, जसलाई संस्थापन इतर पक्षले अस्वीकार गरेको छ । इतर पक्षले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पार्टी सडकमा उत्रिएका बेला प्रदेशमा ओली समूहसँग मिलेर सरकार गठन गरी अघि बढ्न नसकिने तर्क गरेको छ । देउवाले समग्र रूपमा पार्टीको हित हुने गरी सोच्न आग्रह गरे पनि नेता रामचन्द्र पौडेलसहितका नेताले सभापतिसँग असहमति जनाएका हुन् । वाग्मती प्रदेशका संसदीय दलका नेतासहित अन्य नेतासँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरी गरी छलफल सकिएको सहभागीले जनाएका छन् ।

‘संघीयताको अभ्यास व्यवस्थित र सार्थक बनाउने हो भने प्रदेश सरकारका विषयमा देखिएको समस्या समाधान गर्ने अधिकार प्रदेशको पार्टी संयन्त्रलाई नै दिनुपर्छ,’ देउवा निकट एक नेताले भने, ‘रामचन्द्र पौडेलसहितका नेता संघीयताको कुरा गर्नुहुन्छ तर त्यसको अभ्यास गर्न भने हिचकिचाइरहनुभएको छ ।’ नेकपाभित्रको विवादले वाग्मती प्रदेश र प्रदेश नम्बर १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । दुवै प्रदेशमा कांग्रेस निर्णायक देखिएको छ ।

प्रकाशित: १० माघ २०७७ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App