७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वोच्चले संसद् पुनःस्थापना गर्छ, निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिन्छ : झलनाथ खनाल

तस्वीरः मानिका मल्ल/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले सर्वोच्चले संसद् पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए।

‘आजको सर्वोच्च अदालत हिजोको राजा–महाराजाको दिनमा भएको जस्तो होइन, आजको सर्वोच्च अदालत ०६२÷०६३ को जन क्रान्तिपछि हामीले बनाएको संविधानले बनाएको सर्वोच्च अदालत हो। यो सर्वोच्च अदालतले संविधानभन्दा बाहिर गएर निर्णय लिन मिल्दैन। हामीलाई सर्वोच्च अदालतलाई पूर्ण विश्वास गछौं। यो सर्वोच्च अदालतले संसदको पुनःस्थापना गर्छ। संसद्् स्थापना गर्ने अर्को कुनै विकल्प छैन। सर्वोच्च अदालतकका न्यायमूर्तिले जनताले के भन्छन् भन्ने विषयमा जानकार छन्,’ नेता खनालले भने।  

अर्को प्रसंगमा उनले निर्वाचन आयोग पुष्पकमल दाहाल र माधव कुमार नेपालले नेतृत्व गरेका पार्टीलाई आधिकारिकता दिने दाबी गरे। ‘अहिलेको निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन। हामीले बनाएको संविधानअनुसार बनाएको आयोग हो। आयोगले दल ऐन हेरेर निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसकारण कमरेड पुष्पकमल दाहाल र माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी नै आधिकारिक पार्टी हो भनेर आयोगले प्रमाणित गर्न बाँकी छ।’

नेता खनालले ओली समूहलाई ‘एउटा सानो गुट’को संज्ञा दिए। प्रतिनिधि सभा विघटन गरेर ओलीले देशलाई अस्थिरतातिर धकेलेको बताए। ‘ओलीले एउटा सानो गुट बनाएर पार्टीलाई चोइट्याएका छन्। ओलीले प्रतिगामी काम गरे। यो प्रतिगमन हो। तर, केपीले यो राजीतिक कदम भनिरहेका छन्। तर, यो राजनीतिक कदम होइन, प्रतिगमनकारी कदम हो। संविधान विरोधी कदम हो, लोकतन्त्रविरोधी कदम हो। हाम्रो संविधानले कुनै पनि व्यक्तिलाई संसद विघटन गर्ने अधिकार दिएको छैन। यो सार्वभौम जनताले बनाएको संविधान हो। तर, ओलीले संविधान च्यात्ने काम गरेका छन्। देशलाई अस्थिरतातिर लिने कामको थालनी भएको छ।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले देशैभर विरोधका कार्यक्रम गर्दै आएको छ। शुक्रबार प्रचण्ड–नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन गरेको छ।

प्रकाशित: ९ माघ २०७७ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App