coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केपी ओलीलाई घुँडा नटेकाएसम्म जारी आन्दोलोनले विश्राम लिनेछैन : घनश्याम भुसाल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय निश्चित भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले असंवैधानिक कदम चालेका ओलीको पराजय निश्चित भएको बताए।

उनले ओलीसँग अब साइबर सेना र सेटिङवाला प्रपञ्च मात्र बाँकी रहेको बताए। ‘ओलीलाई पराजित नगरी भएको छैन। कमरेड ओली तपाईं ख्याल गर्नुहोस्, अब तपाईंसँग दुईवटा मात्र पार्टी छन्। एउटा तपाईंले बनाएको साइबर सेना भनिने साइबर स्यालहरु बाँकी छन्, जसको नेतृत्व गरेर तपाईं दुनियाँको अगाडि ताण्डव नाचिरहनुभएको छ। संसद थियो त्यो तपाईंले त्यो विघटन गरिसक्नुभयो। अर्को भनेको तपाईंसँग सेटिङवाला प्रपञ्च बाँकी छ। दुनियाँ भन्दैछ, संसद् पुनःस्थापित हुनुपर्छ भनिरहेका छन्। तर, सबैले भनिरहेका छन् केपी ओलीले सबै सेटिङ गरिसकेको छ,’ भुसालले भने।

उनले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापित गरिदिने समेत दाबी गरे। ‘२१औं शताब्दीको सर्वोच्च अदालतले तपाईंको पक्षमा निर्णय गर्दैन। अब तपाईं जित्नुहुँदैन कमरेड,’ उनले ओलीलाई भने।

यस्तै, नेता भुसालले अब आफूहरुले नेकपालाई सुधारिएको पार्टी बनाउने जिकिर गरे। ‘हामी अब राज्यको दोहन गरेर खाने, राज्य लुटेर खाने पार्टी बनाउने छैनौं। हामी यस्तो पार्टी बनाउँछन्, जहाँ हरेक मान्छेले आफ्नो कमाई खाने पार्टी बनाउँछन्। हामी प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पार्टी बनाउने छौं। अब अर्को ओली फेरि नजन्मियोस् भन्नको लागि हामी सचेत छौं। अब अर्को ओली जन्मिने छैन। यो आन्दोलन ओलीलाई घुडा टेकाएर मात्र विश्राम लिनेछ,’ नेता भुसालले भने।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले देशैभर विरोधका कार्यक्रम गर्दै आएको छ। शुक्रबार प्रचण्ड–नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन गरेको छ।

प्रकाशित: ९ माघ २०७७ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App