८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टीभित्र प्रश्न उठ्दा हामीले पद छोडेका उदाहरण छन्ः नेपाल

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देशका लागि सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । उनले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताए ।

‘पार्टी र संसदले पत्याउने अवस्था आएपछि हामी (प्रचण्ड–माधव)लाई पदको लोभी देखाएर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम भयो,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’ 

अध्यक्ष नेपालले आफूले पार्टीको महासचिव, झलनाथ खनालले अध्यक्ष र प्रचण्डले प्रधानमन्त्री पद छोडेको भन्दै आफूहरु पदको लोभी नभएको बताए । ‘सरकारका सबै काममा सल्लाह गरौं, पार्टी र सरकारबीचको सम्वन्धलाई प्रगाढ बनाऔं भन्दा हामीलाई पदको लोभी देखाउन खोजियो,’ उनले भने, ‘पार्टीभित्र प्रश्न उठ्दा हामीले पद छोडेका उदाहरण छन् ।’ 

अध्यक्ष नेपालले शनिबार बस्ने पार्टी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारवाही गर्ने बताए । उनले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये दुई सय ९७ जनाले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टिकरण सोधेको बताए । ‘केन्द्रीय कमिटी बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो,’ नेपालले भने, ‘शनिबारको बैठकले प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निस्कासन गछौं ।’

उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालजस्तै प्रधानमन्त्री ओलीले अहिले नेताहरुलाई विभिन्न आरोप लगाएर जेल कोच्ने हल्ला चलाएको भन्दै त्यसको प्रतिवाद गरिने बताए । ‘कस्ता कस्ता आए, कहाँ कहाँ गए,’ तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफूलाई जेल कोच्ने धम्की दिएको सम्झँदै उनले भने, ‘म केपी ओलीलाई त्यति महत्व दिँदैन ।’

उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएकाले प्रतिनिधिसभाको पुर्नस्थापना हुने बताए । उनले पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफूहरुसँगै रहेको बताए । ‘रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह पाएँदैन,’ उनले भने, ‘पार्टी र चुनाव चिन्ह हाम्रै हो ।’ उनले प्रधानमन्त्री ओलीलाई सुधार्न धेरै प्रयास गरेपनि त्यो बालुवा पेलेर तेल निकालेझै भएको बताए । 

उनले केपी ओलीसँग अव एकताको संभावना नरहेको बताए । ‘अझै पनि केही साथीहरु एकता हुन्छ कि भनेर लागिरहेका छन्,’ उनले भने, ‘केपी ओलीलाई सुधार्नु बालुवा पेलेर तेल निकाल्नु जस्तै हो, एकताको कुनै संभावना छैन।’  

प्रकाशित: ९ माघ २०७७ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App